
१४ फागुन २०७६, काठमाडौं
१. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस
मंसिर ०७४ मा बर्दियाबाट हारेपछि गौतमले साउन ०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न फकाएका थिए । बुढा गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री भएका थिए ।
मतदातालाई फकाएर आउँछु भनेर डोल्पा गएका बुढा फर्कँदा भने राजीनामा गर्न जनताले नमानेको सन्देश लिएर आएका थिए । बुढाले सिट खाली गर्न नमानेपछि गौतमलाई पहिलो झट्का लाग्यो ।
२. विकल्पमा दैलेख, बाँके र प्युठानमा मिहिनेत
दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल रोकाय र प्युठानकी दुर्गा पौडेललाई राजीनामा गराउन पनि गौतमका सहयोगीले मिहिनेत गरे । तर, यो बाटो पनि अघि बढ्न सकेन ।
३. काठमाडौं ७ का रामवीरको राजीनामा
वामदेव गौतमलाई उम्मेदवार बनाउन रामवीर मानन्धरले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिए । तर, जनमानसले चर्को विरोध गरेपछि गौतम आफै ब्याक भए ।
गौतमलाई अधुरो गुण लगाएबापत मानन्धर अहिले सहरी विकास राज्यमन्त्री छन् ।
४. विकास प्राधिकरणको नेतृत्वमा दाबी
प्रतिनिधि सभामा उम्मेदवार हुने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याएका थिए । राष्ट्रिय गौरवका आयोजनाको कमान्ड गर्ने गरी आफूलाई प्राधिकरणको नेतृत्व दिन उनले प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेका थिए । तर, अस्वीकार गरेपछि उनी ओलीसँग चिढिएका थिए ।
५. पोखराबाट उम्मेदवार बन्न ओलीको प्रस्ताव
रिसाएका वामदेवलाई नजिक्याउन प्रधानमन्त्री ओलीले कास्की २ मा उम्मेदवार बनाउन खोजेका थिए । रवीन्द्र अधिकारीको निधनपछि खाली भएको क्षेत्रमा छिटो निर्वाचन गराउन ओलीले तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका थिए ।
तर, शुभचिन्तकहरूले चुनाव हारिन्छ भनेपछि गौतम पछि हटे ।
६. राष्ट्रिय सभा जाने प्रयास पनि अलमलमा
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न पार्टी पहिलेदेखि तयार थियो । तर, गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्न अडान राखेका थिए ।
शीर्ष नेताहरू संविधान संशोधन गर्न तयार भए पनि प्रतिपक्षी दल र जनमानस मात्र होइन, नेकपाकै नेताहरू पनि विरोधमा उत्रिएपछि वामदेवको धोको फेरि भुमरीमा परेको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।





