निजगढ विमानस्थलमा पनि यतीको चलखेल



१४ फागुन २०७६, काठमाडौं

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको विकास र सञ्चालनका निम्ति स्विट्जरल्यान्डको जुरिक एयरपोर्ट इन्टरनेसनल एजी कम्पनी छानिनुपछाडि पनि विवादास्पद यती समूहको संलग्नता फेला परेको छ ।

सातवटा कम्पनीले आशयपत्र पेस गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल लगानी बोर्डले अघिल्लो महिना जुरिक एयरपोर्ट इन्टरनेसनल एजीलाई परियोजनाको विकास र सञ्चालनका निम्ति काम गर्न एकमात्र कम्पनीको रुपमा छनोट गरेको हो ।

जुरिक अन्तर्राष्ट्रिय एयरपोर्टको स्थानीय एजेन्ट यती ग्रुप रहेको र यही ग्रुपको संस्थागत स्वार्थ पूरा गर्न लगानी बोर्डले यो निर्णय लिएको बोर्डका एक अधिकारीले नागरिकलाई बताए ।

गत वर्षको सेप्टेम्बरमा प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बोर्डको बैठकले जुरिक एयरपोर्टलाई छनोट गरेको सूत्रले बतायो ।

यति ठूलो परियोजनाका लागि प्रतिस्पर्धा नगराई एकमात्र कम्पनीलाई छनोट गरिनु शंकास्पद रहेको पनि उक्त सूत्रले बतायो ।

‘प्रतिस्पर्धामा रहेका अरु ६ कम्पनीलाई मापदण्ड पूरा नगरेको भन्दै प्रतिस्पर्धा नै गर्न दिइएन जब कि एसियामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको कुनै अुनभव नभएको जुरिक एयरपोर्टलाई छानियो,’ स्रोतले भन्यो ।

गत मंसिर महिनामा रुख कटानीका कारण वातावरणमा पर्ने नकारात्मक प्रभावको छानबिन गर्नुपर्ने भनेर सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा रोक लगाएकाले बोर्डको निर्णय अगाडि बढ्न भने सकेको छैन ।

लगानी बोर्डको यो निर्णयले यती ग्रुपलाई ठूलो वित्तीय फाइदा हुने देखिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्