कोरोनाबाट मृत्यु हुनेको संख्या २६ सय नाघ्यो, संक्रमित ८० हजार



१२ फागुन २०७६, काठमाडौं

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर २६९८ पुगेको छ। मृत्यु हुनेमा अधिकांश चीनका छन्। यस्तै, विश्वभर संक्रमितको संख्या ८० हजार नाघेको छ।

चीनपछि सबैभन्दा बढी प्रभावित दक्षिण कोरिया भएको छ। कोरियामा ८९३ जनामा कोरोनाको संक्रमण देखिएको छ।

संक्रमण तीव्र रुपमा फैलिएको कोरियामा मृत्यु हुनेको संख्या ८ पुगेपछि स्थानीय अधिकारीहरुले केही नगरपालिकामा विभिन्न खालका प्रतिबन्धहरु लगाएका छन्।

इरानमा ६० जनामा संक्रमण देखिनुका साथै १२ जनाको मृत्यु भइसकेको छ।

विश्व स्वास्थ्य संगठनले विश्वभर महामारी फैलिने सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक तयारी गर्ने समय आएको जनाएको छ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले दक्षिण कोरियाका लागि तेस्रो तहको भ्रमण चेतावनी जारी गरेको छ। केन्द्रले अनावश्यक रुपमा कोरिया भ्रमण नगर्न सचेत गराएको छ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् १९४९ मा जनगणतन्त्र स्थापना भएयता रोकथाम र नियन्त्रणका लागि सबैभन्दा कठिन समय भएको बताएका छन्।

उनले कोरोनाका कारण देशको अर्थतन्त्रमा ठूलो असर परेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्