
१२ फागुन २०७६, काठमाडौं
थारू समुदायमा समस्याका रूपमा रहेको सिकलसेल एनिमिया उन्मूलनका लागि बाँकेको कोहलपुरमा ल्याब स्थापना गरिने भएको छ।
कोहलपुर नगरपालिकाले स्वास्थ्य मन्त्रालयको रु. तीन करोड ३१ लाख १० हजार बजेटमा सिकलसेल एनिमिया जाँचका लागि ल्याब स्थापना गरिँदैछ।
सिकलसेलको पहिचान, नियन्त्रण र उन्मूलनका लागि ल्याब स्थापना गर्न स्वास्थ्य मन्त्रालयको विशेष अनुदानमा नगरपालिकाले ल्याब स्थापना गर्न लागेको हो।
गत वर्षदेखि नै ल्याब स्थापनाका लागि कसरत गरेको नगरपालिकाले यो आर्थिक वर्षमा पहिलो किस्तास्वरुप रु. एक करोड १० लाख बजेटसमेत प्राप्त गरेको छ।
नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूका अनुसार स्वास्थ्य मन्त्रालयले यो आर्थिक वर्षमा रु. एक करोड १० लाख बजेट उपलब्ध गराएको हो।
उपप्रमुख थारूले सिकलसेल एनिमिया रोगको जाँच गर्ने मेसिन नहुँदा रोगको पहिचान गर्न समस्या भएपछि कोहलपुरमै ल्याब स्थापनाका लागि बजेटको माग गरेको बताइन्।





