
१२ फागुन २०७६, काठमाडौं
उमेर ढाँटेर लामो समय जागिर खाने त्रिभुवन विश्वविद्यालयका प्राध्यापकबाट पारिश्रमिक असुली गरिएको छ ।
एसएलसीको सर्टिफिकेट पेस नगरी र नागरिकतामा उल्लेख भएको जन्ममितिको आधारमा लामो समयसम्म पढाएका प्राध्यापकहरू असुलीमामा परेका हुन् ।
अवकाश पाउनुपर्ने समयभन्दा बढी काम गर्दा त्रिविमा कर्मचारीभन्दा प्राध्यापकले धेरै जरिवाना तिर्ने गरेका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागमा पढाइरहेका प्राध्यापक कृष्णप्रसाद आचार्यले भर्खरै मात्र २० महिनापहिलेको मितिमा अनिवार्य अवकाश पाएको पत्र पाए ।
उनलाई कर्मचारी प्रशासनले ५ फागुन ०७६ मा ३ साउन ०७५ मा अनिवार्य अवकाश पाएको पत्र दिएको थियो ।
आचार्यको जस्तै समस्या भएको छ, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसका सहप्राध्यापक मोहनसिंह राउतको पनि छ ।
उनले अनिवार्य अवकाश पाउनुभन्दा झन्डै दुई वर्ष बढी पढाएका छन् । नागरिकतामा भएको जन्ममितिका आधारमा पढाइरहेका उनीहरूको एसएलसीको सर्टिफिकेटमा बढी उमेर रहेको पाइएको हो ।
राउतको फाइल अहिले त्रिवि कार्यकारीमा पुगेको छ । ‘उहाँहरूले जागिर खाने वेलामा एसएलसीको सर्टिफिकेट पेस गर्नुभएको रहेनछ । बढुवा हुने वेलामा एसएलसीको सर्टिफिकेट पेस गर्नुभएको रहेछ,’ त्रिविका एक कर्मचारीले भने, ‘अहिले बढुवाका लागि पेस गरेको फाइल केलाउँदा एसएलसीको सर्टिफिकेट भेटियो ।’
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन् ।





