
१२ फागुन २०७६, काठमाडौं
नेपाल प्रहरीमा रिक्त तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सात प्रहरी नायब महानिरीक्षक (डिआइजी) बीच प्रतिस्पर्धा सुरु भएको छ ।
प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवालीका ब्याची तारणीप्रसाद लम्साल, त्यसपछिका शैलेश थापा, हरि पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोखरेलबीच प्रतिस्पर्धा सुरु भएको हो ।
अहिले जुन डिआइजी एक नम्बर एआइजीमा बढुवा हुन्छ, त्यही पाँच महिनापछि आइजिपी हुने अवस्था छ ।
आइजिपीका ब्याची लम्सालपछि बढुवा हुने ९१ औं ब्याचका थापा, पाल, शाही र कार्कीमध्ये पहिलो नम्बरमा जसको बढुवा हुन्छ त्यही नै आइजिपीको प्रबल दाबेदार हो ।
९१औं ब्याचीको वैकल्पिक समूहमा भर्ना भएका डिआइजी पोखरेल पनि प्रतिस्पर्धामा छन् । पोखरेल एआइजी बन्ने दौडमा सहभागी भएपछि प्रहरी संगठनभित्र हलचल मच्चिएको छ ।
आठ महिना सिनियरसँग बढुवाको दौडमा सहभागी भएका पोखरेल एआइजी भए भने संगठनमा चेन अफ कमान्ड बिग्रने बताउन थालिएको छ ।
हाल पोखरेलको वरीयता नम्बर भने उपाध्यायको भन्दा बढी रहेको छ ।
९१औं ब्याची थापा, पाल, शाही र कार्कीभन्दा उपाध्याय वरीयतामा पछि छन् । तर उनी आइजिपी ज्ञवालीकै ब्याची हुन् ।
प्रहरी प्रधान कार्यालयले डिआइजी लम्साल, थापा र पाललाई एआइजीका लागि सिफारिस प्रस्ताव तयार गरेको छ ।
स्रोतका अनुसार त्यसमा शाही, कार्की, उपाध्याय र पोखरेललाई समेटिएको छैन ।
‘गृह मन्त्रालयले सिफरिस मागेको बखत लैजान प्रस्ताव तयार भएको छ । मंगलबार मन्त्रीज्यू काठमाडौं आएपछि प्रस्ताव पठाउन सकिन्छ’, प्रहरी प्रधान कार्यालय स्रोतले भनेको खबर टपेन्द्र कार्कीले आजको नागरिक दैनिकमा लेखेका छन् ।





