
१२ फागुन २०७६, काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन् ।
नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ ।
नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण गराउन सकेको छैन ।
दुई दशकयताका सबै अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरेका छन्। भारत आउन लागेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन् । भारतलाई अमेरिकाले आन्तरिक विषयमा कुरा नउठाओस् भन्ने लागेको छ । अमेरिका भने यो ‘लक्ष्मण रेखा’मा सीमित रहने अवस्था छैन ।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले लोकतान्त्रिक परम्परालाई समर्थन गर्न भारतले धार्मिक अल्पसंख्यकको सम्मानतर्फ ध्यान केन्द्रित गरिरहेको छ त भन्ने तथ्यलाई विश्वले नियालिरहेको विषयमा ध्यानाकर्षण गर्नेछन्’, ह्वाइट हाउसका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘भारतको संविधानमा पनि धार्मिक स्वतन्त्रता, धार्मिक अल्पसंख्यकको सम्मान र सबै धर्मका लागि समानताको अधिकार छ ।’
योसँगै अमेरिकाले भारतलाई यो क्षेत्रको मुख्य खेलाडीका रूपमा प्रस्तुत गरिरहेको छ । यो अमेरिकाका लागि आवश्यक रहेको पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए ।
‘भारत–अमेरिका सम्बन्धका आधारमा यो क्षेत्रको सम्बन्ध र राजनीति तय हुनेछ’, उनले भने ।
नेपाल र अमेरिकाको सात दशक लामो सम्बन्धमा नेपाल आउने एक मात्र उच्चस्तरीय नेता उपराष्ट्रपति स्पिरो एगन्यु मात्रै हुन् ।
भारतसँग अमेरिकाको सम्बन्धमा निखारता आइरहँदा नेपालले पनि उच्चस्तरीय भ्रमणमार्फत सम्बन्धलाई बढोत्तरी गर्नुपर्नेमा जोड दिनु आवश्यक छ ।
भट्टराईका अनुसार दिल्लीलाई बेइजिङतर्फ चनाखो राख्न पनि वासिङटनले सहकार्य अघि बढाउनेछ । इन्डो प्यासिफिकको विषय त्यति धेरै नउठे पनि त्यो पाटोमा अमेरिका चनाखो रहने उनले बताए ।
ट्रम्पको यो भ्रमण द्विपक्षीय आन्तरिक मामिलामा बढी केन्द्रित हुने भए पनि यसमा एउटा मुख्य पाटोका रूपमा रहेको आईपीएसमा बहस हुन्छ । भारत र अमेरिका दुवैका लागि यो महत्वपूर्ण मानिएको छ ।
अमेरिकामा हुने निर्वाचनको नौ महिनाअघि ट्रम्पले भारत भ्रमण गर्दै छन् । मोदीले आफ्नो दोस्रो कार्यकालमा ट्रम्पसँग पाँचौं भेटवार्ता गर्नेछन् । उनको अघिल्लो कार्यकालमा ट्रम्प भारत आउन पाएका थिएनन् ।
ट्रम्प यसपटक निम्तो स्वीकार गरी श्रीमती मेलानियाका साथ व्यस्त कार्यतालिकासहित सोमबार अपराह्न नयाँदिल्ली ओर्लन लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।





