
१२ फागुन २०७६, काठमाडौं
सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो ।
गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राखेका छन् ।
पार्टी सचिवालयको शनिबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।
स्थायी कमिटी सदस्य सुवास नेम्बाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटालाई सदस्य तोकिएको छ ।
यो विषय गोप्य राख्ने र गोप्य रूपमै त्यसले काम गर्ने तय भएको थियो ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा उक्त निर्णय भएको सचिवालयका एक सदस्यले बताए ।
शनिबार गोप्य राखिएको निर्णय आइतबार सार्वजनिक भएपछि नेकपामा यसले विवाद निम्त्याएको छ ।
स्रोतका अनुसार एक व्यक्तिलाई केन्द्रमा राखेर संविधान संशोधन गर्न खोजिएको भन्दै वरिष्ठ नेता नेपालकै समूहभित्र असन्तुष्टि देखिएको छ ।
नेम्बाङले पनि आफू कार्यदलमा नबस्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
फलस्वरूप कार्यदल नजन्मिँदै विवादमा तानिएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।





