राजपामा सरकार नजाने लाइन हाबी



११ फागुन २०७६, काठमाडौं

राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग नजिकिएको राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जान नहुने भन्ने लाइन हाबी हुँदै गएको छ ।

पार्टीभित्र समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिने कि केपी ओली नेतृत्वको सरकारमा जाने भन्ने विषयमा दुई धार छ ।

तर केही दिनयता समाजवादीसँगको एकीकरणलाई प्राथमिकता दिनुपर्छ भन्ने धार बलियो हुँदै गएको छ ।

यद्यपि सरकारमा जाने लाइन बोकेका नेताहरू अहिले पनि आफ्नो माग सम्बोधन भए सरकारमा जान सकिने अभिव्यक्ति दिएका छन् ।

राजपाका अध्यक्षमण्डलका संयोजक महेन्द्र यादव र नेता महन्थ ठाकुर पहिलेदेखि नै सरकारमा जाने विषयलाई प्राथमिकता नदिई समाजवादीसँगको एकीकरणलाई महत्व दिनुपर्छ भन्ने अडानमा थिए ।

तर राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा र राजकिशोर यादव भने सरकारमा जाने लाइनमा लचिलो थिए ।

यसैबीच राजपा अध्यक्षमण्डलका ६ मध्ये ४ अध्यक्ष महतो, महेन्द्र भण्डारी र राजकिशोर विभिन्न बाहनामा भारत भ्रमणमा गए ।

त्यहाँ केही भारतीय नेताहरूसँग भेटघाट पनि गरे । भारत भ्रमण गएका सबै नेताहरू स्वदेश फर्किसकेका छन् ।

‘अहिले सरकारमा नजाने लाइन हाबी हुँदै गएको छ,’ राजपाका एक पदाधिकारीले भने ।

यता, सरकारमा नजान पार्टी नेतृत्वमाथि विभिन्न तहबाट दबाब पनि बढ्दै गएको छ । पार्टीका दोस्रो तहका नेताहरूले विभिन्न माध्यमबाट सरकारमा नजान पार्टी नेतृत्वलाई दबाब दिँदै आएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्