
११ फागुन २०७६, काठमाडौं
मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालयको बैठकमा एमसिसीबारे अध्ययन गर्न गठन भएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको प्रतिवेदनबारे छलफल भएको थियो ।
माघ १५ देखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठकले पार्टीका वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको थियो ।
सो कार्यदलले प्रतिवेदन तयार गरी पार्टीलाई बुझाएको हो । सोही प्रतिवेदनमाथि छलफल गर्न सचिवालयको बैठक बसेको थियो ।
बैठकमा कार्यदलका संयोजक खनालले एमसिसीको विषयमा अध्ययन गरेको प्रतिवेदनबारे ‘ब्रिफिङ’ गरेका थिए ।
बैठकमा एमसिसीबारे गम्भीर छलफल भए पनि कुनै निष्कर्ष ननिस्केको सचिवालय सदस्य वामदेव गौतमले बताएको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।





