छात्राहरूलाई महिनावारी भए नभएको हेर्न फुकाल्न लगाए भित्री बस्त्र



०७ फागुन २०७६, काठमाडौं

महिनावारीलाई लिएर भारतमा देखाइने असहज व्यवहार फेरि समाचारका शीर्षकहरूमा छाएको छ।

पश्चिमी राज्य गुजरातस्थित एउटा छात्रावासमा बस्ने विद्यार्थीहरूले महिनावारी नभएको प्रमाणित गर्न आफूहरूलाई महिला शिक्षिकाहरूको अगाडि भित्रीवस्त्र फुकाल्न बाध्य पारिएको बताएका छन्।

अठसठ्ठीजना छात्रालाई कक्षाकोठाबाट निकालेर शौचालय पुर्‍याइएको थियो र एकएक गरी भित्रीवस्त्र फुकाल्न लगाएर उनीहरूलाई महिनावारी भए वा नभएको प्रमाणित गर्न लगाइएको थियो।

यो भुज शहरमा अघिल्लो मङ्गलवार भएको घटना हो।

श्री सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययनरत छात्राहरूलाई त्यस्तो गर्न लगाइएको हो।

स्तब्ध भएर रुन थाले

एक छात्राका बुवाका अनुसार उनी कलेजमा पुग्दा उनकी छोरी र अन्य कैयौँ छात्राहरू नजिक आएर रुन थाले। “उनीहरू स्तब्ध छन्,”उनले भने,

आफूहरूलाई “अपमानित” गरेका कलेजका अधिकारीहरूमाथि कारवाहीको माग गर्दै बिहीवार छात्राहरूको एउटा समूहले कलेजमा विरोध प्रदर्शन गरे।

कलेजका सञ्चालक प्रवीण पिन्डोरियाले घटनालाई “दुर्भाग्यपूर्ण” भनेका छन्। त्यसबारे अनुसन्धान गर्न आदेश दिइसकेको भन्दै दोषी जो सुकैमाथि कारवाही गरिने उनले बताए।

तर उक्त कलेजले सम्बन्ध पाएको विश्वविद्यालयकी उपकुलपति दर्शना ढोलकिया छात्रालाई दोषी देख्छिन्।

छात्राहरूले कलेजका नियम उल्लङ्घन गरेको भन्दै केहीले माफी समेत मागिसकेको उनले बताइन्।

तर केही छात्राले बीबीसी गुजरातीलाई बताएअनुसार घटनालाई महत्त्व नदिन र आफ्नो भोगाइबारे नबोल्न कलेजका अधिकारीहरूको उनीहरूमाथि दबाव थियो।

शुक्रवार गुजरातको महिला आयोगले त्यो “लज्जास्पद अभ्यास” बारे छानबिन गर्न निर्देशन दियो र कुनै डरविना आफ्ना कुरा राख्न छात्राहरूलाई आग्रह गर्‍यो।

प्रतिक्रिया दिनुहोस्