अध्ययनः कोरोना भाइरसका अधिकांश सङ्क्रमण मध्यम



०७ फागुन २०७६, काठमाडौं

चीनमा नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित धेरैजसो मानिसहरूमा हल्का प्रकारका सङ्क्रमणका लक्षण भेटिएको चिनियाँ अन्वेषकहरूले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणको जोखिम प्राय वृद्ध विरामीहरू र कमजोर स्वास्थ्य अवस्था भएका मानिसहरूलाई रहने गरेको पाइएको उनीहरूले बताएका छन्।

गत वर्ष मध्य चीनको वुहान शहरमा देखा परेकोले कोभिड–१९ को सङ्क्रमण पुष्टि भएका एक हजार ९०० व्यक्तिको मृत्यु भएको र अहिलेसम्म चीनमा करिब ७२ हजार व्यक्तिमा यसको सङ्क्रमण पुष्टि भएको छ।

चिनियाँ सरूवा रोग विशेष एक जर्नलमा प्रकाशित एक आलेखमा सङ्क्रमण पुष्टि भएका, आशङ्का गरिएका, चिकित्सकीय परामर्श लिएका ७२ हजार ३१४ व्यक्तिको रोगको प्रकृतिबारे फेब्रुअरी ११ तारिखसम्म गरिएको अनुसन्धानबाट गरिएको थियो।

अधिकांश विरामीले आफूलाई कतिवेला सङ्क्रमण भयो भन्ने जानकारी नै नभएको तर लक्षणहरू देखा परेर अस्पताल पुग्दा समस्या जटिल भैसकेको भेटिएको जनाएका थिए।

यो डिसेम्बरमा प्रकोप शुरू भएको नयाँ कोरोना भाइरसका बिरामीहरूमा गरिएको सबैभन्दा ठूलो अध्ययन भएको चिनियाँ अधिकारीले बताएका छन्।

यहाँ रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सीसीडीसी) द्वारा गरिएको अध्ययनको रिपोर्टका अनुसार वृद्ध र कमजोर स्वास्थ्य भएका विरामीमा यसको सङ्क्रमण धेरै देखिएको छ।

अध्ययनले ८०.९ प्रतिशत सङ्क्रमणलाई हल्का, १३.८ प्रतिशत समस्यालाई गम्भीर र ४.७ प्रतिशतलाई उच्च खतरायुक्त जोखिमका रूपमा वर्गीकृत गरिएको छ।

सङ्क्रमणबाट सबैभन्दा बढी ८० वर्ष र त्योभन्दा माथिको उमेर समूहका वृद्धवृद्धाको मृत्यु भएको बताइएको छ। यो उमेर समूहका नागरिकको मृत्यु कोरोना भाइरसबाट सङ्क्रमित कूल प्रतिशतको १४.४ प्रतिशत रहेको जनाइएको छ।

अध्ययन अनुसार मुटुसम्बन्धी बिरामीहरू नयाँ कोरोना भाइरसको जटिलताबाट मर्ने सम्भावना धेरै भेटिएको छ भने मधुमेह, दीर्घ श्वास रोग र उच्च रक्तचापका बिरामीहरूमा पनि जोखिम उच्च देखिएको छ।

कोरोना भाइरसका कारण मृत्यु हुनेमा नौ वर्षभन्दा तलका बालबालिका नरहेको भेटिएको छ। तर दुई शिशुमा उनीहरूको आमाबाट सङ्क्रमण भएको थियो।

त्यस्तै नौ देखि ३९ वर्ष उमेर समूहका नागरिकमा सङ्क्रमणको प्रतिशत ०.२ रहेको उल्लेख छ। सङ्क्रमणको जोखिम उमेरले जति पाको भयो त्यति बढी भेटिएको छ।

नयाँ कोरोना भाइरसको सङ्क्रमण ४० देखि ५० वर्ष उमेर समूहमा ०.४ प्रतिशत, ५० देखि ६० वर्षमा १.३ र ६० देखि ७० वर्षमा ३.६ प्रतिशत र ७० देखि ८० वर्षका नागरिकमा ८.० प्रतिशत रहेको अध्ययनले देखाएको छ।

सङ्क्रमणका कारण मृत्यु हुनेमा अध्ययनका लागि नमूना बनाइएका कूल विरामीको २.८ प्रतिशत पुरूष र १.७ प्रतिशत महिला रहेका छन्। भाइरसका कारण समग्रमा मृत्यु दर २.३ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्