भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने



०६ फागुन २०७६, काठमाडौं

भरतपुर महानगरपालिकालाई धूमपानरहित शहर बनाइने भएको छ। आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।

महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धूमपानरहित शहर घोषणा गर्न समिति निर्माण गरी हरेक महिनाको एक दिन बैठक बसेर गृहकार्य शुरु गरिएको छ।

गत साता इण्डोनेशियाको बोगर नगरमा भएको कार्यक्रममा प्रमुख दाहालले भरतपुर महानगरलाई ‘स्मोक फ्री सिटी’ बनाउने प्रतिबद्धता गरेक थिइन्।

सो कार्यक्रममा १२ देशका ४० नगरका प्रमुखको सहभागिता रहेको थियो। नेपालबाट भरतपुर महानगर प्रमुख दाहालको उपस्थिति थियो।

बोगरमा भएको प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याइने महानगर प्रमुख दाहालले बताइन्। उनले सूचना प्रकाशित गरी भरतपुर महानगरमा सुर्तिजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको बताइन्।

भरतपुर महानगरपालिकाले विभिन्न सञ्चारमाध्यममा सूचना प्रकाशन गरी महानगरभित्र सुर्तीजन्य पदार्थको प्रयोग तथा बिक्री वितरणमा निषेध गरिएको जनाएको छ।

प्रमुख दाहालका अनुसार सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा ४ अनुसार भरतपुर महानगरपालिका सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारीसाधन, बालगृह, सार्वजनिक शौचालय, उद्योग कलकारखाना, मनोरञ्जन स्थल, होटल रेष्टुरेन्ट, खेलकूदस्थल, व्यवसायस्थल, धार्मिकस्थल, सार्वजनिक सवारीसाधन, प्रतीक्षालय, तथा धूम्रपान र सुर्तीजन्य पदार्थ सेवन गर्न पूर्णत निषेध गरिएको छ।

होटल रेष्टुरेन्टमा तोकिएको स्थानमा मात्र धूमपान गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्