कोरोनाका कारण अब रहेनन् वुहान अस्पतालकै निर्देशक



०६ फागुन २०७६, काठमाडौं

लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए। संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो।

कोरोनाभाइरस सुरू भएपश्चात् उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो।

अस्पतालमा खट्दा–खट्दा डाक्टर लिउ आफैं बिरामी परे।

उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो।

ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए।

साथीहरूसँग त्यस्तो चेतावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो। पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए।

उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्