मुनाको घाँटी कसिएर तथा विजयको झुन्डिएर मृत्यु



०४ फागुन २०७६, काठमाडौं

पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध (स्ट्रयाङ्गुलेसन)का कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टबाट देखिएको छ ।

घाँटीको भाग अत्यधिक रुपमा कसिन पुग्दा स्ट्रयाङ्गुलेसन हुन्छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले स्ट्रयाङ्गुलेसनका कारण मुनाको मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको जानकारी दिए ।

‘मुना कार्कीको पोष्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा उनको मृत्यु स्ट्रयाङ्गुलेसनका कारण भएको देखिन्छ । यो भनेको मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध हुनु हो,’ उनले भने, ‘यसमा विजय चौधरीको संलग्नता रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पुष्टि भएको छ ।’

गत २७ माघको बिहान १०ः१० बजे लमहीका २२ बर्षीय विजय चौधरीले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए ।

डोरीको कसाइका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारण उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न चौधरीको भने झुण्डिएर (ह्याङ्गिङ)का कारण मृत्यु हुन पुगेको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ ।

‘चौधरीको पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ह्याङ्गिङ बाट भएको उल्लेख छ’ एसएसपी राईले भनेको खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्