एकै दिनमा रोम पनि बनेन : प्रधानमन्त्री



०४ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल र सुखी नेपालका लागि सरकारले बिरुवा रोपेको तर फल प्राप्त हुन समय लाग्ने बताएका छन् ।

सरकारको दुई वर्षको उपलब्धि विवरण शनिबार संसद्‌मा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सरकारले सुरु गरेका काम अहिल्यै फुलिसके/फलिसके भन्ने होइन । बिरुवा रोप्ने काम भएको छ । कतै उम्रिँदै छन्, कतै टुसाउँदै छन्, कतै हुर्किंदै पनि छन् ।’

प्रधानमन्त्री ओलीले भने, ‘रोम वाज नट बिल्ट इन वान् डे (एकै दिनमा त रोम पनि बनेको थिएन) ।’

उनले जनतामा अनूभूति हुने गरी सरकारले दुई वर्षमा केही काम गरेको दाबी गरे । सरकारले प्रगतिका आँकडा प्रस्तुत गर्दा जनताको इम्प्रेसनको कुरा उठाउने गरिएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा बेलाबेलामा म विस्मित हुने गर्छु । भनौं कि जस्तो पनि लाग्छ– ठिकै छ । अंकमा होइन, अनुभूति नै सही– इन्डेक्स होइन, इम्प्रेसनकै कुरा गरौं न त !’

प्रगतिका अंक र आँकडामाथि प्रश्न गर्ने गरिएको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा ‘गफ गरेर हुन्छ, गर्छु होइन, गरें भन्नुपर्‍यो, काम गरेको देखिनुपर्‍यो नि– तथ्य खोइ ?’ भन्ने सुन्थें । अहिले परिवेश अलि भिन्न छ । यो एक वर्षदेखि एउटा थेगोजस्तै– ‘अंक र आँकडाबाट हुन्छ ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन’ के छ बुझ भन्ने जस्ता कुरा सुनिन थालेको छ ।’

विगतमा ७/८ महिनामा सरकार फेरिरहने अवस्थामा २४ महिना एउटै सरकारले पार गर्नु पनि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने ओलीले बताए ।

उनले पहिलो वर्ष आधार वर्ष र दोस्रो वर्षलाई विकासको आरम्भ वर्षका रूपमा लिएको बताए ।

यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा नरेन्द्र साउदले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्