कसरी भयो प्रधानमन्त्रीको डोमेन दुरुपयोग ? के गर्दैछ सचिवालय ?



०४ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीका नामबाट खोलिएको वेबसाइट दुरुपयोग भएको छ ।

उक्त साइटमा ‘पोर्न’ भिडियो कहाँबाट कसले अपलोड गर्याे भन्ने खुल्न सकेको छैन ।

केपीशर्माओली डटकममा अश्लील सामग्री राखिएकोबारे सरकारले अनुसन्धान तीब्र बनाएको छ ।

सुरुमा प्रधानमन्त्री ओलीको व्यक्तिगत जानकारी समेटिएको वेबसाइट लामो समयदेखि दुरुपयोग भएको पाइएको छ । सरकारले दुई वर्षअघि पोर्न साइटलाई प्रतिबन्ध लगाएको थियो ।

प्रधानमन्त्रीकै नामको डोमेनमा भने सयौं पोर्न भिडियो अपलोड भएका छन् ।

आइटी कम्पनी सञ्चालकका अनुसार सरकारले यो वेबसाइट नेपालभर नखुल्ने बनाउन सक्छ । यो मात्र समानधान भने होइन । यो डोमेन प्रधानमन्त्रीका नाममा भउकाले यसको असर अन्तर्राष्ट्रिय क्षेत्रसम्मै रहन्छ ।

नेपालमा नदेखिने बनाउनेभन्दा पनि सरकारले यो डोमेनप्रदायक कम्पनीसँग समन्वय गरी फिर्ता गर्नुपर्ने आइटी विज्ञको सुझाव छ ।

के गर्दैछ प्रधानमन्त्रीको सचिवालय ?
प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर कसैले दुरुपयोग गरेको स्वीकार गर्छन् ।

‘प्रधानमन्त्रीका नाममा डोमेन दर्ता गरेर गलत काम गर्ने व्यक्तिको खोजी भइरहेको छ । यस विषयमा प्रहरीसँग समन्वय गरेका छौं,’ उनी भन्छन्, ‘डटएनपी भए हामी सिधै बन्द गर्न सक्थ्यौं तर डटकम भएकाले सम्भव छैन ।’

उनका अनुसार यो साइट नेपालमा बन्द गर्ने तयारी छ । ‘इन्टरनेट कम्पनीसँग सहकार्य गरी नेपालभित्र बन्द गर्ने प्रक्रिया सुरु भएको छ,’ उनी भन्छन् ।

नेपालको निजी क्षेत्रको इन्टरनेटप्रदायक कम्पनी वर्ल्ड लिंकले यो साइट बन्द गरेको छ ।

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश दुइटेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्