नेकपाको निष्कर्ष : कमी–कमजोरी देखिए, सरकारलाई बचाउन सकिएन



०३ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरूले दुई वर्षमा अपेक्षाभन्दा बढी काम गरेको दाबी गर्दै हिँडेका छन् ।

तर, सत्तारुढ नेकपाले भने सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको समीक्षा गरेको छ ।

सरकारले केही गर्ने कोसिस गरे पनि जनअपेक्षाअनुसार काम नभएको नेकपाको बुझाइ छ ।

‘लामो समयसम्म पार्टी कमिटीको अभावका कारण न सरकारले गरेका राम्रा कामको जनतामा व्यवस्थित रूपले प्रचार हुन सक्यो, न सरकारलाई कमी–कमजोरीबाट बचाउन पार्टीले नेतृत्वदायी भूमिका खेल्न सक्यो,’ १५ देखि १९ माघसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

यो प्रतिवेदन केन्द्रीय कमिटीअघि स्थायी समितिमा छलफल भएको थियो । २९ मंसिरदेखि ६ पुससम्म चलेको स्थायी समितिले परिमार्जनसहित पारित गरेको प्रतिवेदन पुनर्लेखनसहित केन्द्रीय कमिटीमा आएको थियो ।

केन्द्रीय कमिटीमा पनि समूहगत छलफलपछि परिमार्जनसहित पारित भएको हो ।

यसरी पारित भएको प्रतिवेदनमा ‘सरकारका कामहरूको सामान्य समीक्षा’ शीर्षकमा सरकारका उपलब्धि र कमजोरी उल्लेख गर्दै गर्नुपर्ने कामबारे सुझाब छ ।

स्थायी र केन्द्रीय दुवै कमिटीका बैठकमा अध्यक्षद्वयका तर्फबाट अध्यक्ष प्रचण्डले प्रतिवेदन पेस गरेका थिए ।

पारित प्रतिवेदनमा पार्टी एकताले पूर्णता पाएकाले सरकारको काम प्रभावकारी हुने अपेक्षासमेत छ ।

सरकार–पार्टी समन्वयको अभावबारे प्रतिवेदनमा भनिएको छ, ‘ढिलै भए पनि अब पार्टी एकता प्रक्रियाले पूर्णता पाएको छ । विभिन्न स्तरमा पार्टी कमिटीहरू क्रमशः क्रियाशील हुन थालेका छन् । आउँदा दिनमा पार्टी र सरकारका कामहरूका बीचमा आपसी समन्वयमा सुधार भई दुवैको प्रभावकारितामा वृद्धि हुने अपेक्षा छ ।’

यो खबर आजको नायाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्