
०३ फागुन २०७६, काठमाडौं
कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली शनिबार जहाज लिएर चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ ।
आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।
नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका छ ।
साँझ ६ः४५ मा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ ।
नेपाली समयअनुसार आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ ।
बेइजिङस्थित नेपाली दूतावासले हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको छ ।
‘हुबेई प्रान्तका विभिन्न ठाउँबाट पाँचवटा बसमा हाम्रा नागरिक शनिबार साँझसम्म वुहान पुर्याउँदैछौं र वुहानमा रहेकालाई पनि सामेल गरेर स्वदेश फर्काउँछौँ,’ दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले भनेको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।





