कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी नै अनभिज्ञ



०१ फागुन २०७६, काठमाडौं

विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस जाँचका लागि नेपाल–भारत सीमानाका जमुनाहामा ‘कोरोना हेल्थ हेस्क’ स्थापना भएको छ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन भारतबाट आउने नेपालीको स्वास्थ्य जाँचका लागि नाकामा हेल्थ डेस्क सञ्चालनमा छ।

सटर भाडामा लिएर सञ्चालनमा ल्याइएको सो हेल्थ हेस्कमा हरेक दिन एक जना स्वास्थ्य जाँचका लागि खटिन्छन्। तर, कोरोना हेल्थ हेस्क हरेक दिन सुनसान हुने गरेको छ।

स्वास्थ्य परीक्षणका लागि कोही नआएपश्चात् स्वास्थ्य परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी कामविहीन हुने गरेका छन्।

हेल्थ डेस्कलाई कोरोना भाइरस जाँच गर्ने जिम्मा पनि दिइएको छ। तर, हेल्थ डेस्कमा खटिने स्वास्थ्यकर्मी नै कोरोना भाइरसको बारेमा बेखबर छन्। हेल्थ डेस्कमा जाँचका लागि खटिएका स्थास्थ्यकर्मी नै अनभिज्ञ देखिएका छन्।

कोरोना भाइरस नयाँ भएकाले राम्रो जानकारी नभएको हेल्थ डेस्कका प्रमुख हेल्थ असिस्टेन्ट देवीचन्द्र थापा बताउछन्। उनले भने, “कोरोना भाइरस के हो भन्नेबारे म पनि जानकार छैन।”

भाइरस पत्ता लगाउने विधि र आवश्यक उपकरणका बारेमा पनि आफूलाई जानकारी नभएको उनी बताउछन्। थापाले भने, “नयाँ रोग भएकाले के कसरी सर्छ र देखिने लक्षणका बारेमा धेरै स्थास्थ्यकर्मीलाई जानकारी नै छैन।”

कोरोना भाइरस नयाँ भएकाले यो रोगका बारेमा स्वास्थ्यकर्मीलाई अनुशिक्षण दिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्