चीनमा कोरोनाको नयाँ संक्रमण एकै दिन दश गुणाले बढ्यो



०१ फागुन २०७६, काठमाडौं

चीनको हुवे प्रान्तमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर एकै दिन १० गुणाले बृद्धि भएको छ। मृत्यु दर पनि झण्डै अढाई गुणाले बढेको छ।

विहीबार विहान चिनिया अधिकारीहरुले सार्वजनिक गरेको रिपोर्ट अनुसार वुधवार मात्रै हुवेमा १४ हजार ८४० जनामा नयाँ संक्रमण देखिएको छ।

जो अघिल्लो दिनको तुलनामा झण्डै १० गुणा बढी हो। यस्तै सो प्रान्तमा बुधबार मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २४२ पुगेको छ।

जो अघिल्ला दिनको तुलनामा दोब्बर भन्दा बढी हो। अघिल्लो दिन नयाँ संक्रमण १ हजार ६३८ र मृत्युको संख्या ९४ मात्रै थियो।

हुवे प्रान्तको स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म सो प्रान्तमा ४८ हजार २०६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ।

यस्तै मृत्यु हुनेको संख्या सो प्रान्तमा मात्रै १ हजार ३१० पुगेको छ।

चीन बाहिरको समेत संख्या गणना गर्ने हो भने कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ६० हजार ६३ पुगेको छ। मृत्यु हुनेको संख्या १ हजार ३६३ पुगेको छ। अहिलेसम्म ५ हजार ६८० जना अस्पतालमा उपचार पछि निको भएर घर फर्केको आयोगले जनाएको छ।

संक्रमण र मृत्युको संख्या ह्वात्तै बढेपछि प्रान्तीय स्वास्थ्य आयोगले भनेको छ, नयाँ संक्रमित केशहरुको पत्ता लगाउने र पुष्टि गर्ने विधिमा पनि परिवर्तन गरिएको छ।

अब कुन विरामी संक्रमित हो भनेर जानकारी दिन चिकित्सकहरुलाई आफ्नो विवेक प्रयोग गर्न भनिएको छ।

डिसेम्बर ३१, २०१९ मा चीनको हुवे प्रान्तस्थित वुहान शहरमा पहिलो केश देखिएको यो भाइरसले यतिवेला चीन सहित सारा विश्वलाई त्राहिमाम बनाएको छ।

विश्व स्वास्थ्य संगठनले अहिले स्वास्थ्य संकटकाल घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्