सरकारले आजबाट दादुरा – रुवेला खोप अभियानको पहिलो चरण प्रारम्भ



०१ फागुन २०७६, काठमाडौं

सरकारले आज देखि दादुरा रुवेला खोप अभियान सञ्चालन गर्दैछ।

दुई चरणमा सञ्चालन गरिने यो अभियानको पहिलो चरण (फागुन महिना भर) तीनवटा प्रदेशमा ९ १, २ र ५० का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ जना बालबालिकालाई दादुरा रुवेला खोप दिन लागिएको हो।

खोप अभियानको दोस्रो चरण भने आगामी चैत महिनामा शुरु हुन्छ। त्यसबेला बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ जना बालबालिकालाई यो खोप दिइने तयारी भएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाका प्रमुख डा झलक गौतमले बताए।

उनका अनुसार दुई चरणमा गरी यो खोप ९ महिना देखि ५ बर्षसम्मका करीब ३० लाख बालबालिकालाई दिइदै छ।

डा. गौतमले यस पटक झापादेखि कञ्चनपुरसम्मका तराईका १८ जिल्लाका (चितवन र नवलपरासीलाई छाडेर) सबै बालबालिकालाई दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाईने बताए।

अहिले नेपालमा पोलियोको शून्य अवस्था छ। तर यसलाई अझ सुरक्षित बनाउन जन्मेदेखि पाँच वर्ष मुनिका सबै बालबकालिकालाई पोलियो थोपा खुवाउन लागेको उनले जानकारी दिए।

त्यसो त नेपालमा सन् २०१० देखि पोलियो रोगको नयाँ बिरामी भेटिएका छैनन्।

डा गौतमले नेपालमा पोलियो उन्मुलनको अवस्था रहेकोले जोखिम मानिएका जिल्लामा दादुरा खोपसँगै पोलियो थोपा पनि खुवाउन लागिएको बताए।

नेपालमा सन् २००४ मा पहिलो दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो। सामान्यतः हरेक चार वर्षमा हुने यो अभियान त्यसपछिका २००८, २०१२, २०१६ मा सञ्चालनमा क्रमश दोस्रो, तेस्रो र चौथो अभियानको रुपमा सञ्चालन भएको थियो।

प्रतिक्रिया दिनुहोस्