कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पुग्यो १ हजार बढि, एकैदिन १ सय ३ को मृत्यु



२८ माघ २०७६, काठमाडौं

महामारीको रुपमा चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।

उक्त प्रकोप फैलिएपश्चात् एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो।

यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,००० नाघेको छ।

चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीहरूलाई कारवाही गरेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा उक्त आयोगका प्रमुख घटुवामा परेका छन्।

त्यसैगरी चन्दा हिनामिना गरेको आशङ्कामा स्थानीय रेडक्रसका सहायक निर्देशक पनि पदमुक्त भएका छन्।

अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२,२०० व्यक्ति छन्।

सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो।

यो सङ्कट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्