धुलिखेल सामुदायिक अस्पताललाई शव परीक्षण अनुमति



२७ माघ २०७६, काठमाडौं

धुलिखेल सामुदायिक अस्पतालले पनि शव परीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ।

काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ। आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श गर्याे।

अस्पतालका डा. राजकुमार कार्कीका अनुसार अस्पतालले सो सेवा सञ्चालन गर्न २०७१ सालबाट छलफल चलाएको थियो।

यसका लागि आवश्यक संरचना निर्माण तथा जनशक्ति व्यवस्थाभएपछि मन्त्रालयले अनुमति दिएको जनाइएको छ। उनले भने, “पछिल्लो चरणमा बनेको मेडिको लिगल सेवा सञ्चालन निर्देशिका २०७५ अनुसार सेवा सञ्चालन गर्न लागेको हौँ।”

मेडिको लिगल सेवाले कसुरको अनुसन्धान, अभियोजन वा न्यायिक कार्वाहीको सिलसिलामा कानूनी प्रयोजनका लागि गरिने चिकित्सकीय जाँच, परीक्षण वा सोसम्बन्धी कार्य जनाउने छ।

साथै उमेर प्रमाणीकरण, कुटपिट, जबर्जस्ती करणी, मानसिक अवस्थाको परीक्षण, यातना, शवपरीक्षण मृत्युको कारण र अन्य कुनै घटनाको सम्बन्धमा प्रचलित कानूनबमोजिम गरिने चिकित्सकीय जाँच लगायत पर्दछ।

सो सेवा प्रदान गर्न अस्पतालमा तीन विशेषज्ञहरु रहेको र चौबिसै घण्टा सेवा सञ्चालनमा रहने जनाइएको छ।

अस्पतालका प्रशासक प्रद्युम्न श्रेष्ठले अस्पतालले वाग्मती प्रदेशका साथमा प्रदेश नं १ को सोलुखुम्ब, खोटाङ र ओखलढुङ्गा सेवा क्षेत्रभित्र रहनेगरी मान्यता पाएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्