समायोजनले स्वास्थ्य संस्था खाली, करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु



२६ माघ २०७६, काठमाडौं

गाउँका अधिकांश स्वास्थ्य संस्थाबाट सेवा प्रवाह गर्न अप्ठ्यारो भएपश्चात् ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मी करारमा नियुक्ति गरी स्वास्थ्य सेवा सुचारु गरेको छ।

एक स्टाफ नर्स, आठ अहेव, सात अनमी र छ हेल्थ असिस्टेन्ट गरी २२ स्वास्थ्यकर्मी नियुक्त गरी सेवा अवरुद्ध हुनबाट जोगाएको गाउँपालिकाले जनाएको छ। कर्मचारी समयोजनसँगै स्वास्थ्यका कर्मचारी अन्यत्रै गएपश्चात् अधिकांश स्वास्थ्य संस्था बन्द हुने अवस्थामा पुगेका थिए।

सरकारले कर्मचारी नपठाएपश्चात् करारमा कर्मचारी नियुक्त गरिएको गाउँपालिका अध्यक्ष टीका गुरुङले जानकारी दिए।

“लामो समयदेखि कर्मचारी छैनन्, गाउँका स्थास्थ्य संस्था कर्मचारीविहीन हुँदा नागरिक सामान्य उपचारबाट समेत बञ्चित हुने अवस्था आयो र सरकारको दायित्वअन्तर्गत रहेर करारमा कर्मचारी नियुक्त गरी पदपूर्ति गरेका हौँ”, उनले भने।

जिल्लाका अन्य गाउँपालिकामा समेत स्वास्थ्यका कर्मचारीको अभाव देखिएको छ। समायोजनपश्चात् सबै कर्मचारीले सुगम रोजेर हिँडेपश्चात् जिल्लाका स्वास्थ्य संस्थामा पर्याप्त कर्मचारी छैनन्। पर्याप्त कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएका छन्।

जुम्लादेखि ताप्लेजुङसम्म

शनिबार सो गाउँपालिकाले शनिबार ती करार पदमा लिएको परीक्षामा जुम्लाका परीक्षार्थी समेत सहभागी भएका थिए। झण्डै छ दिनको यात्रा गरेर जुम्लाका कविराज अधिकारी ताप्लेजुङसम्म आईपुगे। उनीसहित ९४ जना परीक्षामा सामेल भएका थिए।

“जागिर खान निकै समयदेखि दौडधुप गरिरहेको छु, कर्मचारीको माग कहाँ भइरहेको छ भन्ने चासो दिँदै गर्दा यहाँ विज्ञापन खुलेको पाइयो र छ दिन जति लगाएर परीक्षा दिन आएको हुँ”, उनले भने। परीक्षामा नेपालगञ्ज, रौतहट, झापा, वीरगञ्ज, धनुषा, महोत्तरी, सुनसरी, झापालगायतका ठाउँबाट सहभागी थिए।

“यति धेरै सङ्ख्यामा आवेदन पर्ला भन्ने हामीले सोचेका पनि थिएनौँ, जुम्लादेखिका परीक्षार्थीले समेत आवेदन दिइ परीक्षामा सहभागी हुनुभयो”, गाउँपालिकाका प्रशासकीय अधिकृत सन्तोष घिमिरेले भने। उनका अनुसार एक मेडिकल अधिकृत पद आह्वान गरिएकोमा आवेदन परेन।

प्रतिक्रिया दिनुहोस्