बलात्कार गर्न खोज्दा महिलाले कोरोना भएको भनि कराएपछि…



२४ माघ २०७६, काठमाडौं

चीनमा धेरै नागरिकले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन्।

तर एक चिनियाँ महिला आफूलाई कोरोना भाइरस भएको भनी ढाँटेर बलात्कारकोे प्रयास गर्ने व्यक्तिलाई भगाउन सफल भएकी छन्।

२५ वर्षीय सियाओले गत शुक्रबार महिलाको बेडरुममा गएको र बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

उक्त व्यक्तिले सेक्सुअल आक्रमणको प्रयास गरेसँगै स्वस्थ महिलाले आफू भर्खरै वुहानबाट आएको र कोरोना भाइरसको संक्रमित भएको भनेर चिच्याएकी थिइन्।

त्यसैले, आफू घरमा एक्लै क्वारेन्टाइनका लागि बसेको उनले बताएकी थिइन् ।

प्रहरीका अनुसार पीडित यीले आफूलाई खोकी लागेको भए पनि कोरोनाभाइरस भएको भनेर ढाँटेकी थिइन्। सियाओले उनको घाँटी थिच्ने र मुख छोप्ने प्रयास गरेका थिए।

यीको यस किसिमको दाबीपश्चात् उक्त अपराधी डराएर भागेका थिए ।

उक्त घटना जिङ्सानको बाहिर रहेको पिङ्बा नगरमा भएको थियो। यो सहर वुहानबाट ३ घण्टाको ड्राइभिङको दूरीमा छ।

यो घटना जिङ्सान सार्वजनिक सुरक्षा ब्यूरोले सोमबार सामाजिक सञ्जालमा पोस्ट गरेको थियो। सियाओ स्थानीय बासिन्दा हुन् र सोही रात उनी पैसाविहीन अवस्थामा परिवारबाट छुट्टिएका थिए।

उनीसँग पैसा पनि नभएकाले उनले महिलाको कोठाबाट केही पैसासमेत लुटेर लगेका थिए।

उनी यीको घरमा प्रवेश गरेपश्चात् यीलाई एक्लै देखेर बलात्कारको प्रयाससमेत गरेका थिए।

यीले प्रहरीलाई बोलाएपश्चात् तत्कालै सहरमा उक्त व्यक्तिको खोजी सुरु गरिएको थियो। तर, सबै मानिसले फेस मास्क लगाएकाले अनुसन्धानमा केही कठिनाइ आएको अधिकारीले स्वीकार गरेका छन्।

तर, सोमबारपश्चात् थोरै समयको अवधिमा सियाओ आफ्ना बुवासँगै फर्किएका थिए। उनले आफ्नो अपराध स्वीकार गरेका छन्। हाल उनी हिरासतमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्