हेटौँडा अस्पतालमा छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’



२४ माघ २०७६, काठमाडौं

हेटौँडा अस्पतालले कोरोना भाइरस उपचार गर्न छुट्टै ‘कोरोना भाइरस उपचार कक्ष’ तयार गरेको छ।

वाग्मती प्रदेश सरकार अन्तर्गतको सबैभन्दा ठूलो अस्पतालका रुपमा यो अस्पताल रहेको छ। सो भाइरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयको निर्देशनअनुसार अस्पतालले दुई वटा कोठा छुट्याएको छ। अस्पतालमा हाल दैनिक पाँचदेखि सात सयको हाराहारीमा बिरामी सेवा लिन आउने गरेका छन्।

सेवा लिन आउने बिरामीमा कोरोना भाइरसको लक्षण हालसम्म देखिएको छैन। भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ।

अस्पतालले उपचारका लागि आउने बिरामीलाई सो भाइरससम्बन्धी सचेतना समेत गराइराखेको छ।

प्रतिक्रिया दिनुहोस्