कोरोनाबाट मृत्यु हुनेको संख्या पुग्यो ६३६, नयाँ संक्रमण भने घट्दो क्रममा



२४ माघ २०७६, काठमाडौं

चीनमा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या नघटेपनि नयाँ संक्रमितको संख्या भने घट्दो क्रममा रहेको छ।

यसले नयाँ कोरोना भाइरस अब नियन्त्रण उन्मुख भएको अधिकारीहरुले बताएका छन्।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार बिहीबार मात्रै थप ७३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा यो भाइरसको मुख्य उदगमस्थल हुवेई प्रान्तका ६९ जना र बाँकी अन्य प्रान्तका हुन्।

मृत्यु हुनेको संख्या नघटेपनि नयाँ संक्रमितको संख्या भने दिनप्रतिदिन घटन थालेको छ। विहीबार ३१४३ जनामा नयाँ संक्रमण देखिएको छ। बुधबार नयाँ संक्रमितको संख्या ३ हजार ६९४ जनामा नयाँ संक्रमण भेटिएको थियो।

मंगलबार संक्रमितको संख्या ३ हजार ८८७ थियो। नयाँ संक्रमण घटेसंगै चीनले कोरोनाभाइरस नियन्त्रणको अभियानमा सफलता पाउन थालेको विज्ञहरुले बताएका छन्।

आयोगका अनुसार विहीबारसम्म नयाँ कोरोनाभाइरसबाट संक्रमणमा पर्नेको संख्या विश्वभर ३१ हजार ४५२ पुगेको छ।

३१ डिसेम्वर २०१९ का दिन पहिलो पटक पत्ता लागेको यो भाइरसको आतंकपछि विश्व स्वास्थ्य संगठनले अहिले ग्लोवल हेल्थ इमरजेन्सी घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्