सबैभन्दा पहिले कोरोनाबारे चेतावनी दिने डाक्टरको सोही भाइरसका कारण मृत्यु



२४ माघ २०७६, काठमाडौं

कोरोना भाइरसको संक्रमणबाट एक चिनियाँ चिकित्सकको मृत्यु भएको छ।

कोरोनाको प्रकोप फैलिन सक्ने चेतावनी सबैभन्दा पहिले दिएका वुहान सेन्ट्रल अस्पतालका चिकित्सक डा. ली वेन्लियाङको सोही संक्रमणका कारण मृत्यु भएको हो।

वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत वेन्लियाङलाई त्यहीँ सङ्क्रमण भएको बिबिसीले जनाएको छ।

ती ३४ वर्षीय चिकित्सकले आफ्ना सहकर्मीहरूलाई डिसेम्बर ३० मा भाइरस सङ्क्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सजग गराएका थिए। तर प्रहरीले उनलाई अनर्गल टिप्पणी नगर्न चेतावनी दिएको बिबिसीले जनाएको छ।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन्। तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान तीन बज्न लाग्दा भएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्