नेपाल चिकित्सक संघको निर्वाचनमा मतगणना विवादः सर्वपक्षीय भेला गर्दै निर्वाचन समिति



२२ माघ २०७६, काठमाडौं

नेपाल चिकित्सक संघको निर्वाचनपश्चात् मतगणनाको विषयमा देखिएको विवाद टुंग्याउन निर्वाचन समितिले सर्वपक्षीय बैठक बोलाएको छ।

संघको केन्द्रीय कार्यालयमा अहिले दिउसो ३ बजेका लागि बैठक बोलाइएको प्रमुख निर्वाचन अधिकृत डा. बाबुराम मरासिनीले बताए।

बुधबार (हिजो) विहान ८ बजे देखि शुरु हुने भनिएको मतगणना विवादमा परेपश्चात् अहिलेसम्म शुरु हुन सकेको छैन्। हिजो दिनभरको प्रयासपश्चात्को बेलुका गणना शुरु गर्न लागिएको थियो। तर मतपत्रको विषयमा पुन विवाद भएपचात् अघि बढ्न सकेन।

निर्वाचन समितिले विवादकाबीच गणना नहुने भन्दै अनिश्चित कालका लागि मतगणना कार्य स्थगित भएको सूचना जारी गरेको छ।

प्रमुख निर्वाचन अधिकृत डा. मरासिनीले आज बैठकमा सहमति गर्ने प्रयास हुने तर सहमति भएन भने पनि शुक्रबार विहान ११ बजेबाट मतगणना अघि बढाउने योजना रहेको बताए।

संघको २८ औं केन्द्रीय कार्यकारिणी समिति (२०७६ – ०७९ कार्यकाल) का लागि लागि भएको निर्वाचन गत मंगलबार ४ बजे सम्पन्न भएको थियो।

तर संघको निर्वाचन सम्पन्न भएको ४७ घण्टा पुगिसक्दा समेत मतगणना हुन सकेको छैन।

यसपटक पेशागत समावेशी समूहबाट डा. पुष्पमणि खराल र लोकतान्त्रिक समूहबाट डा. लोचन कार्कीको प्यानल प्रतिस्पर्धामा छ। महासचिव पदमा भने प्यानल बाहेक दुई जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन्।

निर्वाचनमा ६ हजार १५२ भोट खसेको छ।

प्रतिक्रिया दिनुहोस्