
२२ माघ २०७६, काठमाडौं
बुटवल नगर क्षेत्रमा सञ्चालित शहरी स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सेवासहितको स्वास्थ्य सेवा सञ्चालमा आएपश्चात् सेवाग्राहीको आकर्षण बढेको छ।
बुटवल उपमहानगरका १९ वटै वडामा चिकित्सक र जनस्वास्थ्य अधिकृतले नियमित सेवा प्रदान गरिरहेका छन्।
स्वास्थ्य सेवालाई थप सुदृढ तथा प्रभावकारी बनाइएपश्चात् नगरवासीको आकर्षण बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए।
केन्द्रबाट मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी प्रभावकारी सेवा प्रदान गरिएको उनले बताए।
आर्थिक वर्ष २०७४/७५ मा केन्द्रबाट २१ हजार ४७३ र आव २०७५/७६ मा १० हजारभन्दा धेरैले बहिरङ्ग सेवा लिएको जनाइएको छ।
यस्तै, स्वास्थ्य संस्था नभएका वडामा वडाक्लिनिक सञ्चालनमा ल्याइएको छ। आव २०७४/७५ मा चार हजार ७०४ ले सेवा लिएकोमा गत आव ०७५/७६ मा वृद्धि भई नौ हजार ५९० सेवाग्राही पुगेको तथ्याङ्क रहेको छ।
उपमहानगरपालिकाले ८० वर्षमाथिका ज्येष्ठ नागरिक र गर्भवती तथा सुत्केरीलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ।
‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा शुरु भएको सो कार्यक्रमअन्तर्गत हालसम्म एक हजार ३३२ ज्येष्ठ नागरिकले सेवा लिएका छन्।
यस्तै पहिलो चरणमा सुत्केरीलाई घरमै पुगेर पोषण सामग्री र भत्ता प्रदान गरिएको छ। गर्भवतीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्न क्याल्सियम चक्कीसहित पोषण सामग्री सहयोग गरिएको छ।
सो कार्यक्रमअन्तर्गत आव २०७५र७६ मा ७२० लाभान्वित भएका छन्। आव २०७४र७५ मा ७७० ले मात्र गर्भजाँचको सेवा लिएकोमा आव २०७५र७६ मा एक हजार ३१३ ले सेवा लिएका छन्।
सो कार्यक्रमको प्रभावकारिता र सेवा प्राप्त गरेकाको अवस्था बुझ्न उपप्रमुख गुमादेवी आचार्यले घरमै भेट्न पुग्ने गरेकी छन्।
उनले केही पोषण सामग्री प्रदान गर्दा उनीहरुमा सार्वजनिक स्वास्थ्यप्रति विश्वास बढेको पाइएको जानकारी दिइन्। चारपटक गर्भजाँच गर्नेको सङ्ख्या पनि अघिल्लो वर्ष ३९५ रहेकोमा यस वर्ष ३२ प्रतिशतले वृद्धि भई ५२३ पुगिसकेको छ।





