
२१ माघ २०७६, काठमाडौं
जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका बेहुलाको गोली हानी हत्या गरिएको छ।
भारतको उत्तरप्रदेश राज्यको आजमगढमा बिहेका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गरेका मेहनगर थाना क्षेत्रअन्तर्गत सिंहपुर निवासी हरिषचन्द्र गुप्ताका २५ वर्षीय छोरा सुमितको बोटोमै गोली हानेर हत्या गरिएको हो।
भारतीय मिडियाका अनुसार कारमा सवार बेहुलालाई मोटरसाइकल चढेका आएको समूहले बोटोमै गोली हानेर हत्या गरेको हो।
लालगंज बजारस्थित लालबहादुर गुप्ताकी छोरीसँग मंगलबार राति उनको विवाह हुने कार्यक्रम थियो। बेहुली पक्ष जन्तीको स्वागतको तयारीमा जुटिरहेको समयमा करिब एक किलोमिटरको दूरीमा बेहुलाको हत्या भएको हो।
विवाहका लागि जन्तीसहित बेहुलीको घरतर्फ जाँदै गर्दा बोटोमै मोटरसाइकलमा आएको समूहले बेहुलामाथि गोली प्रहार गरेको बताइन्छ। कारको सिसा छेडेर गोली छिरेको थियो।
गोली प्रहार गरेलगत्तै हमलाकारीहरु मोटरसाइकलसहित फरार भएको बताइएको छ।
प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार सुमितको टाउकोमा गोली लागेको थियो। घटनालगत्तै सुमितलाई टीकरगढस्थित अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले सो क्षेत्रमा राति नै नाकाबन्दी गरेर चेकजाँच गरे पनि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन। गोली कसले चलाएको हो र किन हत्या गयो भन्ने प्रष्ट हुन नसकेको प्रहरीको भनाइ छ।





