चीनबाट फर्काइने नेपालीलाई कहाँ राख्ने?



२१ माघ २०७६, काठमाडौं

कोरोनाभाइरस फैलिएको चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीलाई स्वदेश फर्काएर कहाँ राख्ने भन्ने विषयमा अझै निर्णय भने हुन सकेको छैन्।

मंगलबार बेलुका मुख्य सचिवको अध्यक्षतामा बैठक बसेर स्थानको टुंगो लगाउने भनिएपनि सो विषयमा निर्णय हुन् सकेन।

बरु बजेट अन्य विषयमा छलफल केन्द्रीत भएको बैठकमा सहभागी स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।

कतिपय सञ्चारमाध्यमले भने नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्र भक्तपुरको खरीपाटीमा राख्ने निर्णय भएको उल्लेख गरेका थिए।

‘हिजो यस विषय टुंगो लाग्ला भनिएको थियो। तर स्थानको बारेमा छलफल नै भएन। अब बरु आज १ बजे पुन मुख्य सचिवको अध्यक्षतामा छलफल हुँदैछ। बरु आज टुंगो लाग्ला कि?,’ ती सदस्यले भने।

मुख्य सचिवको अध्यक्षतामा बालुवाटारमा बस्ने भनिएको हिजोको बैठकका लागि स्वास्थ्यबाट सचिव खगराज बराल, सहसचिव डा. दिपेन्द्ररमण सिंह, हेल्थ इमरजेन्सी शाखाका सागर दाहाल र भीम सापकोटा पुगेका थिए।

यी हुन् सम्भावित चार स्थान

सरकारले हुवे प्रान्तमा रहेका स्वस्थ रहेका नेपालीलाई मात्रै स्वदेश फर्काउने हो। नेपाल ल्याउनु अघि चिनियाँ अधिकारीहरुले स्वास्थ्य परीक्षण गर्नेछन्।

त्यहाँ स्वस्थ पाइएका नेपालीले मात्रै हवाइजहाजमा इन्ट्रि पाउँछन्। तर दुई देखि १४ दिनसम्म इन्कुभेसन पिरियड भएकाले ल्याइएका सबै स्वस्थ नेपालीलाई छुट्टै सुरक्षित स्थान (क्वारेन्टाइन)मा राखिनेछ।

अहिले त्यहि सुरक्षित स्थान (क्वारेन्टाइन) को खोजी गरि निर्णय गर्न ढिलाई भएको हो।

हिजोको बैठकमा नेपाली सेनाले विभिन्न चारवटा स्थान उपयुक्त भएको बताएको छ। नेपाल विद्युत प्राधिकरणको तालिमकेन्द्र रहेको भक्तपुरको खरीपाटी, खानेपानीको तालिम केन्द्र नगरकोट, नेपाली सेनाको पाँचखाल व्यारेक वा नेपाली सेनाको शिवपुरी व्यारेक (अल्ले व्यारेक)मा राख्न सकिने राय दिएको छ।

आज एक बजे बस्ने बैठकले क्वारेन्टाइनको टुंगो लाग्न सक्ने बतायो।

यता परराष्ट्र मन्त्रालयले क्वारेन्टाइनको निर्णय नहुँदा चीनमा रहेका नेपालीलाई फर्काउन ढिलाई भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्