
२० माघ २०७६, काठमाडौं
पछिल्लो समय चीन कोरोनाभाइरसको महामारीसँग जुधिरहेको छ।
हुबेई प्रान्तको राजधानी वुहान सहरबाट सुरू भएको नोवेल कोरोनाभाइरसले चीनको सीमा नाघेर फिलिपिन्समा समेत एक जनाको ज्यान लिइसकेको छ।
चीनबाहिर अफ्रिकाबाहेक सबै महादेशमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।
अहिले चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भईसकेको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय १८ जनाको अवस्था गम्भीर छ भने ४ सय ४४ जना जोखिमपूर्ण अवस्थामा छन्।
चीनले कोरोनाभाइरससँग लडाइँमा आफ्नो सामर्थ्यले भ्याएसम्म गरिरहेको छ। गत सातामात्र वुहानमा दुई दिनभित्र हजार शैयाको अस्पताल निर्माण गरिएको थियो।
वुहानका स्वास्थ्यकर्मीहरू अहिले रातदिन नभनीकन बिरामीको उपचार गरिरहेका छन्। उपचारमा जाँदा उनीहरू आफैं पनि संक्रमण होला भन्ने त्रास हुन्छ।
गत साता बिरामीको उपचार गरिरहेका एक डाक्टरले कोरोनाभाइरसका कारण ज्यान गुमाएका थिए।
अहिले उपचारमा खटिएका डाक्टरहरू लडाइँमा गएको सिपाही जस्तो चनाखो हुन्छन्। श्वासप्रश्वासबाट सर्ने भएकाले उच्च गुणस्तरका मास्क लगाउँछन्।
उनीहरू यतिबेर मास्क लगाउँछन् कि अनुहारमा त्यसको छाप नै बस्छ।
अहिले एउटा त्यस्तै तस्बिर चीनमा भाइरल भइरहेको छ।
वुहानमा उपचार गरिरहेका डाक्टर र नर्सहरूले ब्रेकको समयमा मास्क खोल्दा उनीहरूको अनुहारमा मास्कको डोब बसेको देखिन्छ।
डाक्टर तथा नर्सहरूले कैयौं दिनदेखि मास्क लगाएर ओभरटाइम काम गरिरहेका छन्। लामो समय काम गर्दा उनीहरू निकै थकित पनि देखिन्छन्।





