मेलम्चीसँगै बग्न सक्छ ! शैलुङ कन्सट्रक्सन



१९ माघ २०७६, काठमाडौं

देशका विभिन्न भागमा पारेका निर्माण परियोजनाहरु सक्नुपर्ने समयमा नसकी विवादास्पद छवि बनाएको शैलुङ कन्सट्रक्सनले विवादको बीचमा नै तोकिएको बजेट  रु. २ अर्व १६ करोड भन्दा करिब ३० प्रतिशत कममा तोकिएको काम गर्न सक्ने दावी सहित हालेको टेण्डर उसैले हात पार्‍यो ।

डा. राजन भट्टराईको पहलमा रिङ्ग रोड बाहिर पहिलोपटक बिस्तार गरिएको मेलम्ची खानेपानी परियोजनाले गोकर्णेश्वरका केहि वडा सहित बूढानीलकण्ठ क्षेत्रको कपन र चुनिखेल आसपासका क्षेत्रहरुमा २ अर्ब १६ करोडको परियोजना स्वीकृत भएपछि विशेषगरी बूढानीलकण्ठ नगरपालिकाको कपन आसपासका क्षेत्रका बासिन्दाहरु हर्षित भए ।

त्यहि उत्साहमा डा. राजन भट्टराई सहित स्थानीय पार्टी नेता कार्यकर्ता सहितको ठूलो समूह अर्थमन्त्रीको क्वाटरमै पुगेर परियोजनाको स्वीकृतिको लागि अर्थमन्त्रीलाई धन्यवाद समेत दिएको थियो । जसलाई परिवर्तन खबरले डा. राजन भट्टराईको पहलमा कपनवासीलाई सवा २ अर्वको खानेपानी परियोजना (भिडियो सहित) समाचार समेत लेख्यो ।

निर्माणमा भन्दा योजना पार्नमा व्यस्त शैलुङ्ग कन्सट्रक्सनले परियोजना शुरु गर्नुपर्ने समयमा नगरेपछि डा. भट्टराई कै पहलमा पहिलो भेला कपन पार्टी प्यालेसमा गरी निर्माण व्यवसायी र परियोजनासँग जोडिएका सरकारी निकायलाई राखी डा. राजन भट्टराईले फेरि कडा निर्देशन दिए । परिवर्तन खबरले फेरि लेख्यो कपन क्षेत्रमा अबको २२ महिनाभित्र पानी आउनुपर्छ, कुनै बहानाबाजी चल्दैन : डा. राजन भट्टराई  उक्त भेलामा ठेकेदारका प्रतिनिधिले “नो ईफ नो बट“ भन्दै अब काममा कुनै बहानाबाजी नगरी तोकिएकै समयमा काम सक्ने प्रतिवद्धता जनाएका थिए । बोलि अनुसारको काम फेरि पनि भएन । आफ्नो प्रतिष्ठासँग जोडिएको काममा समेत ठेकेदारले लापरवाही गरेपछि डा. भट्टराईले सार्वजनिक कार्यक्रम मै सभामुखले कानुनी उन्मुक्ति पाउँदैनन् भने ठेकेदारहरु को हुन् : डा. राजन भट्टराई भन्दै चेतावनी दिए ।

त्यसपछि परियोजना विस्तारबारे थप जानकारी दिने भन्दै बूनपा–१० को सभा हलमा सरोकारवाला सहितको छलफल राखियो । कामको प्रगतिबारे सन्तुष्ट आयोजना प्रमुख भोज बिक्रम थापाले ढुक्कसँग भने मेलम्ची खानेपानी परियोजना समयमा नै आउँछ । परिवर्तन खबरले त्यसलाई फेरि महत्व दिँदै लेख्यो  मेलम्चीको खानेपानी समयमै काठमाडौं ल्याउने आयोजना प्रमुख थापाको दावी वडा कार्यालयको छलफल अनुसार परियोजनाको साईड अफिस कपनमै खोलियो । अफिस उद्घाटनमा आयोजना प्रमुख भोज बिक्रम थापा सहितको टोली र वडाध्यक्षहरुको समेत सहभागिता रह्यो । हामीले त्यसलाई फेरि लेख्यौँ, कपन क्षेत्रमा मेलम्ची खानेपानी आयोजना जनवरी २० देखि शुरु हुँदै (भिडियो सहित) जनवरी १९ मा परिवर्तन खबरले फलोअप समाचारको लागि तत्कालिन प्रोजेक्ट म्यानेजरलाई सम्पर्क गर्न खोज्यो । उनको मोबाईल अफ थियो । हाम्रो टोली सम्पर्क कार्यालयमा पुग्दा अफिस बन्द थियो । अर्को दिन बिहान अफिस पुग्दा कार्यालय बाहिर राखिएको बोर्ड निकालिएको थियो । सम्पर्क गर्न खोज्ने व्यक्तिको नम्बरहरु अफ थिए र लागेका नम्बरहरुमा पनि फोन उठेन ।

परियोजना कार्यान्वयन निर्देशनालयका प्रमुख भोज बिक्रम थापासँग सम्पर्क गर्दा केहि समय पर्खन अनुरोध गरे । परियोजना कार्यान्वयन निर्देशनालय श्रोतका अनुसार,“खोलेको साईड अफिस बन्द भएपछि यो विषयमा परियोजना भित्र निकै ठूलो हलचल ल्यायो । आयोजनाका अधिकारीहरुले खानेपानी मन्त्रीलाई जानकारी गराई कारवाही वा काम गराउने वातावरण निर्माणबारे छलफल भयो । त्यसपछि परियोजना अफिसमा ठेकेदारका छोरा नै उपस्थित भएर जसरी पनि तोकिएको समयमा काम गरिसक्ने प्रतिबद्धता जनाए ।”

परियोजना अहिलेपनि चलिरहेको छ । विवादास्पद छवि नभएका ठेकेदार भए अझैपनि आजोजना सम्पन्न गर्न पुग्ने समय छ तर पहिले काम नगरेको कारण उनको पछिल्लो कदमबाट सिंगो परियोजना टिम सशंकित बन्यो । उनले ३० महिनामा सक्ने काम मध्ये धेरै कामहरु भईरहेका छन् । परियोजना कार्यान्वयन कार्यालय अति नै दबाबमा छ । तोकिएको समयमा काम सक्नु नै पर्ने भएकोले अबको केहि हप्तामा चीन र भारतबाट ल्याईने पाईप र फिटिङ्गहरु नल्याए योजना कार्यान्वयन निर्देशनालयले आवश्यक प्रक्रिया पुर्‍याई ठेक्का तोड्ने अवस्था सिर्जना भएको बुझिन्छ ।’

हामीसँगको कुराकानीमा परियोजना कार्यान्वयन निर्देशनालय श्रोतले भन्यो, “यदि यो परियोजनामा केहि हप्ता भित्र शैलुङ कन्सट्रक्सनले तोकेको काम गरेन र फेरिपनि आलटाल गर्‍यो भने ठेक्का तोड्ने मात्र होईन । पप्पु कन्सट्रक्सन त के भयो र ? अर्काको खुट्टामा उभिएका व्यक्ति भएकोले सदाको लागि यो पेशाबाट बाहिरिने छन् । उनको सिंगो ठेकेदारीको अस्तित्व समाप्त हुनेछ ।’

शैलुङ कन्सट्रक्सनका मालिक जनयुद्ध कालमा माओवादीका ठूला सहयोगी भएपनि नेकपाले भक्तपुरमा गुमाएको सिटमा उनले जिम्मा लिएर नबनाएको बाटोको छविले पनि निकै धक्का दिएको छ । अब अध्यक्ष प्रचण्डलाई बदनाम गराउनेहरु कोहिपनि संरक्षित हुँदैनन्–नेकपाका एक केन्द्रिय सदस्यले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्