चीनको दुःखः कोरोना भाइरसमाथि बर्डफ्लूको आतंक



१९ माघ २०७६, काठमाडौं

हुवेई लगायत प्रान्तमा कोरोना भाइरसको संक्रमण फैलिएर नियन्त्रणमा ल्याउन हम्मेहम्मे परिरहेका बेला चीनको अर्को एक स्थानमा एच (एन) अर्थात बर्डफ्लूको महामारी देखिएको छ।

चीनको दक्षिणी प्रान्त हुनानको सायोयांग शहरमा अवस्थित एक कुखुरा फार्मका ४५ सयभन्दा धेरै कुखुरा फ्लूका कारण मेरको हुनान प्रान्तको कृषि तथा ग्रामिण विकास मन्त्रालयले जनाएको छ।

सो फार्मको झण्डै ८ हजार कुखुरामध्ये ४५ सय संक्रमणपश्चात मरेका हुन्। संक्रमण फैलनसक्ने भन्दै स्थानीय अधिकारीहरुले १७ हजारभन्दा धेरै पोल्ट्री फार्महरुमा परीक्षण र कुखुरा नष्ट अभियान चलाएको खवर छ।

यसअघि भारतले पनि यसै साताको सुरुमा विभिन्न स्थानमा कुखुरामा फ्लू भेटिएपश्चात् अण्डा र कुखुरा नष्ट गर्ने अभियान चलाइरहेको छ। पूर्वी यूरोपका देशहरुमा पनि हालै बर्डफ्लूको संक्रमण फैलिएको समाचारहरु आएका छन्।

चीनमा सन् २०१३ मा भएको बर्डफ्लू महामारीका कारण चीनमा ३ सयभन्दा धेरैले ज्यान गुमाएका थिए भने १४ हजारभन्दा धेरै मानिसमा संक्रमण पाइएको थियो।

उक्त समयमा चीनले ६ दशमलव ५ बिलियन डलर बराबरको आर्थिक नोक्सानी भोग्नुपरेको राष्ट्रसंघको एउटा रिपोर्टमा उल्लेख छ।

यो पटक पनि नयाँ प्राणघातक कोरोना भाइरससँग जुधिरहेको चीनका लागि बर्डफ्लू तनावका रुपमा थपिएको छ।

 

प्रतिक्रिया दिनुहोस्