
१८ माघ २०७६, काठमाडौं
चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको सरकारले स्पष्ट पारेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै संयन्त्रको प्रभावकारी परिचालन गरेको बताउनुभयो।
कोरोना भाइसरको सम्भावित प्रकोपको जोखिम नियन्त्रणका लागि के–कस्ता उपाय अपनाउने भन्ने सन्दर्भमा शनिबार सरोकारवाला निकायसँगको छलफलका क्रममा उहाँले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको र कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकार संवेदनशील रहेको बताउनुभयो।
जोखिम नियन्त्रणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीनसँगका सीमानाकामा स्वास्थ्यकक्ष सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “नेपाल अहिले कोरोना भाइरसको उच्च जोखिम क्षेत्र होइन, तर पनि चीनसँग सम्पर्क जोडिएको हुनाले सतर्कताचाहिँ अपनाउनै पर्छ, त्यसैले उच्च जोखिममा छैन तर उच्च सतर्कता अपनाएका छौँ, अन्तरमन्त्रालयको समन्वयमा सबै संयन्त्रलाई प्रभावकारीरूपमा परिचालन गरिएको छ।” कोरोना भाइसरको हल्ला चलेपछि सरकारले एक सातादेखि यसले पार्न सक्ने असरका सम्बन्धमा सरोकारवालासँग छलफल गरिरहेको छ।
यही माघ १२ गते प्रधानमन्त्रीको उपस्थितिमा गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र तत्सम्बन्धित मन्त्रालयका सचिव, विभाग र महाशाखाका प्रमुखको बैठकले चीनमा फैलिएको नोभेल कोरोना भाइरस र सोले नेपालमा पार्न सक्ने असरका सम्बन्धमा छलफल गरेको थियो।





