नेपालीको जीवन रक्षाको ग्यारेन्टी गरेका छौंः चीन



१८ माघ २०७६, काठमाडौं

चीनले कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको छ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो।

विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरुसहित केही नेपालीहरु अझै पनि वुहानमा छन्। उनीहरुको जीवन तथा स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको छ।’

चीनको हुपेई प्रान्तको वुहान भन्ने स्थानबाट कोरोना भाइरस फैलिएको थियो। त्यहाँ अझै पनि नेपालीहरु रहेको र उनीहरुले छिटो उद्धार गरिदिन आग्रह गरिरहेको समाचार प्रकाशमा आएका बेला चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी उनीहरुको रक्षाका लागि सक्रिय कदम चाल्ने जानकारी दिएको हो।

महामारी नियन्त्रणका लागि र विदेशीहरुसँग समन्वय गर्नका लागि आपतकालीन संयन्त्र स्थापना गरिएको जानकारी दिँदै दूतावासले भनेको छ, ‘हामी यस महामारी नियन्त्रणको लडाइँ जित्नेमा विश्वस्त र सक्षम छौं। चीन सरकारले अन्तर्राष्ट्रिय दायित्वको पालना निकै जिम्मेवारपूर्वक गर्ने छ।’

विज्ञप्तिमा लेखिएको छ, ‘कृपया विश्वस्त हुनुस् चीनले सबैको हितको रक्षाका लागि सक्रिय कदम उठाइरहने छ ।’

प्रतिक्रिया दिनुहोस्