कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई छुट्टै कक्ष



१८ माघ २०७६, काठमाडौं

छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपश्चात् यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ।

अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको हो।

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो।

अस्पतालकाका अनुसार, शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ।

अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ। अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा. प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उनले जानकारी दिए। उनीहरु दुवै फिजिसियन हुन्।

परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको हो।

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।

नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्