कोरोना भाईरस प्रभावित चिनियाँलाई नेपाली व्यवसायीले करिब ३ लाख थान मास्क पठाउँदै (भिडियो सहित)



corona virus

१६ माघ २०७६, काठमाडौं

चीनको उहान प्रान्तमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस प्रभावितलाई ठमेलमा थियन वाङ सिङ फार्मेसी संचालन गरिरहेकी नेपाली व्यवसायी सरस्वती रिजालको नेतृत्वमा करिब ३ लाख थान मास्क पठाउँने तयारी भईरहेको छ ।

कविराज सरस्वती रिजालसँगको भिडियो कुराकानी :

आयुर्वेदमा कविराज गरेकी सरस्वती रिजालले परिवर्तन खबरसँग कुरा गर्दै भनिन् ,‘नेपालमा भूकम्पको भयावह अवस्थामा मित्रराष्ट्र चीनबाट उल्लेख्य सहयोग प्राप्त भएको थियो । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणमा नेपाली भावना जोडियोस् र केहि हदसम्म सहयोग समेत होस् भन्ने उद्देश्यले आवश्यक प्रक्रिया पुर्‍याई केहि दिन भित्रै आफ्नो फार्मेसीले ३ लाख थान मास्क पठाउन लागेको हो ।’

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको निदानको लागि हालसम्म कुनै औषधी पत्ता लाग्न लागेको छैन । यस्तो अवस्थामा मास्क प्रयोग नै प्रभावकारी हुने भएकोले नेपालबाट मास्क पठाउन लागेको रिजालले बताईन् । एकैपटकमा धेरै मास्कको माग भएकोले चिनियाँ उत्पादनले धान्न गाह्रो परेको समयमा नेपाली विद्यार्थी एशोसियशन मार्फत चिनियाँ सामाजिक संस्थाले प्रभावित र विशेष गरी उपचारमा संलग्न डाक्टर र नर्सलाई वितरण गरिने समेत उनले बताईन् ।

रिजालले थपिन्, ‘हामी नेपालीहरु मिलेर थप सहयोग गर्न सके, दुई देशका नागरिकको भावना बलियो हुने थियो । म अरु नेपाली व्यवसायीहरुलाई समेत चिनियाँ संकटको बेला सकेको सहयोग गर्न आग्रह गर्दछु ।’

चिनियाँ राष्ट्रपति सी जिन फिङको नेतृत्वमा चिनियाँ सरकारले कोरोना भाईरस प्रभावित उहान क्षेत्रमा भर्खरै स्थापना गरेको हस्पिटल र अन्य उपलब्ध उपाय अवलम्बन गरी चिनियाँ नागरिकहरुलाई उपयुक्त उपचार हुने विश्वास व्यक्त गर्दै मित्रराष्ट्र चीन छिट्टै कोरोना भाईरस नियन्त्रणमा सफल हुने र चिनियाँ जनजीवन छिट्टै सहज हुने धारणा राखिन् ।’

चीनमा हालसम्म कोरोना भाईसरका कारण करिब ६ हजार संक्रमित छन् भने १३२ को मृत्यु भईसकेको चिनियाँ समाचार माध्यमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्