सुकुटी र मासु बोकेर जापान पुगेका बाबुछोरालाई ३ वर्षे भिसा रद्द गरेर फर्काइयो



१५ माघ २०७६, काठमाडौं

सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका दुई जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ।

जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो। चितवन घर भएका भट्टराई थरका ती दुई नेपाली बाबुछोरा हुन्। उनीहरुलाई तीन वर्षको भिसा दिइएको थियो जुन रद्द भएको छ। दुईमध्ये छोरा पहिल्यैंदेखि जापानमा थिए। अहिले विदामा नेपाल गएर आफ्ना बाबुलाई पनि साथैमा लिएर आएका थिए।

उनीहरु जापानको नारिता विमानस्थलमा ल्याण्ड गरेपश्चात् चेकजाँचको क्रममा प्रतिबन्धित वस्तुसहित समातिएका थिए। उनीहरुलाई जनवरी २६ मा विमानस्थल अध्यागमनले नियन्त्रणमा लिएको थियो।आफ्ना पितालाई जापान घुमाउन लिएर आएका भट्टराई २६ तारिख साँझ ड्रागन एयरको विमानबाट नारिता बिमानस्थलमा ओर्लिएका थिए। विमानबाट सामान्य अवस्थामा ओर्लिएर आवश्यक सोधपुछ र भिसा चेकजाँच समेत पार गरेर भट्टराईले आफ्नो लगेज समेत पाइसकेका थिए।

विमानस्थलबाट बाहिरिएर रेल चढ्न जान लागेका बाबुछोरालाई विमानस्थलको बाहिरी भागमा चेकजाँच गर्ने अधिकारीले सोधपुछ गरेका थिए। सोधपुछमा भट्टराई बाबुछोराले झुट बोलेको भए पनि सुरक्षाकर्मीलाई शंका लागेपश्चात् लगेज खोलेर जाँच गर्दा तीनवटा सुटकेसमा गरी करिब ३ किलो सुकुटी र ३ किलो जत्तिनै आलो मासु भेटिएको थियो।

चेकजाँचम हरियो खुर्सानी, धुलो खुर्सानी लगायत अन्य खानेकुरा समेत सुटकेसमा भेटिएको थियो। यी वस्तुहरु जापान, कोरिया लगाएतका विभिन्न मुलकमा लैजान प्रतिबन्धित छन्।

प्रतिक्रिया दिनुहोस्