कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ८० पुग्यो, २७०० जना स‌ंक्रमित



१३ माघ २०७६, काठमाडौं

चीनमा देखापरेको वुहान कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ८० पुगेको छ। सोही भाइरसका संक्रमणमा पर्नेहरुको संख्या चीनमा २७०० पुगेको हो।

गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको सो भाइरस यतिखेर चीनका अन्य शहरहरुमा पनि फैलिँदै गएको छ भने चीन बाहिर पनि त्यस भाइरसबाट संक्रमित रोगीहरु फेला परिरहेका छन्।

वुहान भाइरसका कारण चीनका कतिपय शहरहरुमा आवातजावातमा कडाइ गरिएको छ। वुहानमा सार्वजनिक यातायात, स्कुल, कलेज, प्रतिष्ठानहरु बन्द गरिएका छन्।

वुहान शहरमा जान र त्यहाँबाट बाहिर आउन प्रतिबन्ध लगाइएको छ। यतिखेर चीनका करिब ६ करोड जनताहरुका जनजीवन यसै भाइरसका कारण नराम्ररी प्रभावित भएको छ।

चीन बाहिर विभिन्न १३ स्थानमा वुहान भाइरसबाट संक्रमित रोगीहरु फेला परिसकेका छन्।

खतरनाक कुरा के छ भने यो भाइरस कुनै लक्षणहरु देखानपरिकनै एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको पाइएको कुरा चिनियाँ अधिकारीहरुले बताएका छन्। तर यो कुराको आधिकारिक र ठोस पुष्टि भने भइसकेको छैन।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्