
१३ माघ २०७६, काठमाडौं
चीनको मध्य क्षेत्रबाट फैलिएको कोरोना भाइरसका कारण प्रभावित हुनेको सङ्ख्या बढ्ने क्रम नरोकिएपश्चात् निधानको लागि औषधी, उपकरण तथा स्वास्थ्यकर्मीसहितका थप १२ टोलीलाई हुबेई पठाउने तयारी भएको अधिकारीहरूले जनाएका छन्।
चीनमा कोरोना भाइरसका कारण ५६ जनाको मृत्यु भएको र करिब दुई हजार व्यक्तिमा सङ्क्रमण भएको चीनले पुष्टि गरिसकेको छ। चिनियाँ अधिकारीहरूले रोग लागेका सयौँ विरामीहरू उपचारपपश्चात् स्वस्थ भइसकेका तर उनीहरूलाई अझै पनि चिकित्सकको निगरानीमा राखिएको बताइएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सिआओवेले आइतबार एक पत्रकार सम्मेलनमा भने, “कोरोना भाइरसको सङ्क्रमित विरामीको उपचारलाई थप प्रभावकारी बनाउन थप एक हजार ६०० स्वास्थ्यकर्मीसहितका १२ समूहलाई छिट्टै प्रभावित क्षेत्रमा पठाउने तयारी भएको छ।”
माले भने, “आयोगले विशेषज्ञसहितको थप ९०० स्वास्थ्यकर्मीको सात टोलीलाई हुबेई पठाइसकेको छ भने सेनाले पनि ४५० अनुभवप्राप्त स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइसकेको छ।”
थप एक हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको उनले बताए।





