चीनमा कोरोना संक्रमणबाट मृत्यु संख्या ९ पुग्यो, यसबाट बच्ने कसरी?



०९ माघ २०७६

चीनमा फैलिरहेको ‘कोरोना’ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। चिनियाँ अधिकारीका अनुसार अहिलेसम्म ४ सय ५० जनामा भाइरसको संक्रमण पाइएको छ भने प्रतिदिन संक्रमितको संख्या बढ्दो छ। अझ ब्रिटेनका विशेषज्ञले त चिनियाँ विशेषज्ञले दिएको तथ्यांकभन्दा संक्रमितको संख्या निकै बढी भएको अनुमान लगाएका छन्।

मानिसबाट मानिसमा सर्ने जोखिम उच्च भएका कारण यो भाइरस नेपालमा पनि भित्रिने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विशेषज्ञले सुझाएका छन्। हालसम्म चीनका विभिन्न राज्य, जापान, थाइल्यान्ड र अमेरिकामा भेटिएका सबै संक्रमित युहान राज्य गएर आएको पाइएको छ। यस्तोमा युहान गएर आएका नेपाली र त्यहाँबाट आएका पर्यटक सबैमा विमानस्थलमै नमुना परीक्षण गर्नुपर्ने विशेषज्ञको सुझाब छ।

युहानबाट आएका एक नेपाली युवामा कोरोना भाइरस परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नमुना हङकङ पठाएको छ। विश्व स्वास्थ्य संगठनको समन्वयमा मंगलबार हङकङको युनिभर्सिटीमा नमुना परीक्षणका लागि पठाएको महाशाखाका डा. हेमन्त ओझाले जानकारी दिए। ती युवामा भाइरस भए–नभएको प्रमाणित गर्न ओरोफ्यान्जिय स्वाब (मुखबाट लिइने) स्याम्पल परीक्षणका लागि बाहिर पठाएको उनले बताए।

कसरी जोगिने?

श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले यो संक्रमणबाट जोगिन सकेसम्म भिडभाडमा जान नहुने विज्ञहरू बताउँछन्। भिडभाडमा जानैपरेमा मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ। साबुनपानीले हात धुन तथा खानेकुरा राम्रोसँग पकाएर खान डा। बास्तोलाको सुझाब छ।

हाल फैलिएको भाइरस सन् २००२–००३ मा चीन र हङकङमा प्रकोपका रूपमा फैलिएको सार्स भाइरसकै एक प्रजाति हो। कोरोना भाइरस थुप्रै प्रकारका हुने भए पनि मानिसमा भने यसअघि यसका ६ प्रकारको संक्रमण पाइएको छ । नयाँ देखिएको भाइरसलाई मानवमा संक्रमणका हिसाबले कोरोनाको सातौँ प्रकारका रूपमा हेरिएको छ।

जेनेटिक कोडको विश्लेषणबाट यो भाइरस सार्सको तुलनामा मान्छेमा चाँडो संक्रमण गर्नेखालको रहेको पाइएको छ। सार्सका कारण चीनमा २००२ मा ८ हजार ९८ जनामा संक्रमण देखिएको थियो भने ७ सय ७४ जनाको यही भाइरसका कारण ज्यान गएको थियो। पछिल्ला वर्षहरूमा सार्सको संक्रमण देखिएको छैन भने कोरोनाकै अर्को प्रकार ‘माउस’ले भने निरन्तर संक्रमण गरिरहेको छ। यो सातौँ प्रकार सार्स र माउसभन्दा पनि छिटो सरेको पाइएकाले चिन्ताको विषय बनेको विशेषज्ञहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्