घर झगडापछि विष खुवाएर आफ्नै २ छोराको हत्या गर्ने आमालाई जन्मकैद



०१ माघ २०७६, काठमाडौं

आफ्नै कोखबाट जन्मिएका २ सन्तानलाई घरेलु झगडाका कारण विष खुवाई हत्या गर्ने महावु गाउँपालिका–१का २४ वर्षीया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ।

उनलाई सोमवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सो फैसला सुनाएको हो।

२ जना छोरालाई विष खुवाई हत्या गरेको भन्दै दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो।

गत २०७५ कार्तिक १० गते दिउँसो घरमै आमा कल्पनाले खाजामा विष मिसाएर खुवाउँदा उनका ३ र ७ वर्षीय छोरा अमित र आयुष नेपालीको मृत्यु भएको थियो। विष लागेको थाहा पाएपचात् स्थानीयले अस्पताल लैजाँदै गर्दा आयुषको बाटैमा र अमितको २०७५ कार्तिक १५ गते कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो।

आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०७५ कार्तिक १६ गते आमाको नाममा जाहेरी दर्ता गराएका थिए।

२ वटैको शव परीक्षण प्रतिवेदनबाट विष खुवाएर नावालकको मृत्यु भएको उल्लेख गरिएको छ। २०७५ कार्तिक २० गते आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो।

२०७५ मंसिर १० गते प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा दर्ता गराएपश्चात् आरोपितलाई पुर्पक्षका लागि दैलेख जिल्ला अदालतले जिल्ला कारागार थुनामा पठाएको थियो।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी कसूर सजाय ऐन २०७४ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हाली मारेको कारण खुलेकाले जन्मकैद गरिएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । जन्मकैदको अवधि २५ वर्ष हुने ऐनमा उल्लेख गरिएको छ। आजको राजधानी दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्