दिर्घ रोगका बिरामीलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु



२९ पुष २०७६, काठमाडौं

भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई एकै पटकमा तीन महिनासम्मको औषधि दिन शुरु गरेको छ। स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिइ सो व्यवस्थाको शुरुवात गरेको हो।

यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो।

मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले बिरामीका लागि सहज होस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको जानकारी गराए।

मधुमेह, उच्च रक्तचाप, दम, हाडजोर्नी, कोलस्ट्रोल, थाइराइडजस्ता समस्या भएका बिरामीलाई औषधि दिन शुरु गरिएको छ।

नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेबाहेकलाई यसबाट सहज हुने जनाइएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार चितवन र छिमेकी जिल्लाका सर्वसाधारणले जीवन बिमा गर्दा पहिलो बिन्दु भरतपुर अस्पताललाई रोजेका छन्।

छिमेकी तनहुँ जिल्लामा विपन्न वर्ग तोकिएको छ। उनीहरुलाई सरकारले बिमा गरिदिएको छ। त्यस्ता विपन्न वर्गको सुविधा लिने धेरैले भरतपुर अस्पताललाई पहिलो बिन्दु तोकेको उनले जानकारी दिए।

भरतपुर अस्पतालमा दैनिक सरदर एक हजार ३०० बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउने गर्दछन्। तीमध्ये आधा जसो बिमाका हुने गर्दछन्। बिमामा आउनेमध्ये ५० प्रतिशत हाराहारी नियमित औषधि सेवन गर्ने गरेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्