कसरी स्वस्थ अनि फिट रहने चिसोमा?



२३ पुष २०७६, काठमाडौ.

काठमाडौं लगायत देशका विभिन्न भु–भागमा चिसो बढिरहेको छ। बढ्दो चिसोसँगै विभिन्न रोगहरु उत्पन्न भईरहेका हुन्छन्। जसकारण यो मौसममा आफूले-आफूलाई स्वस्थ राख्न हरेक कुराहरुमा ध्यान दिनुपर्दछ।

त्यसैले, आज हामी तपाईँहरुलाई चिसोमा कसरी स्वस्थ रहने? जुन बिषयमा जानकारी दिदैछौं।


-पर्याप्त मात्रामा न्यानो कपडा लगाउनुहोस्। जस्तैः टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनुहुँदैन। विशेषगरि बाहिरतिर निस्कदाँ सचेत रहनुपर्दछ।

-बिहान पर्याप्त मात्रामा शारीरिक व्यायाम गर्नुहोस्। जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ। चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ।

-पर्याप्त तातो पानी पिउनुहोस्। चिसो मौसममा हामी पानी कमै मात्रामा पिउने गर्दछौं। जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ। र बिहान बेलुका हिडडुल गर्दा न्यानो लुगा, टोपी लगाएर बाहिर निस्किनु उचित हुन्छ।

-चिसोमा सरुवा रोगबाट सरसफाई ध्यान दिनुपर्दछ। नियमित साबुन पानीले हात धुने र शरिर फुर्तिलो राख्न बेला–बेलामा नुहाउने गर्नुपर्दछ। चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ। यस्तै, चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड अनिवार्य लगाउनुपर्दछ।

-जाडोमा सबैभन्दा बढी श्वासप्रश्वास सम्बन्धी समस्या देखापर्दछ। यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्दछ। हाच्छिउँ गर्दा नाक मुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्दछ। संक्रमण भएको छ भने मास्क लगाएर हिड्न आबश्यक हुन्छ।

-मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन। बिहान बेलुका अलि बडि जाडो हुने भएकाले बिहान–बेलुका घरभित्रै बस्नुपर्दछ।

-स्वस्थ खानपानमा ध्यान दिन आवश्यक हुन्छ। फलफुल तथा तरकारी, भिटामिन ‘सि’ जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

-शरिर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्दछ। त्यस्तै, छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ। चिसोले छालालाई सोसेरा सुख्खा बनाईदिन्छ।

-कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरिरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

-जाडोको समयमा जाडो भुल्न धुम्रपान तथा मध्यपान गर्ने प्रचलन छ। यी पक्षले कुनैपनि हालतमा शरिरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। धुम्रपानले फोक्सो विगार्ने र मदिराले कलेजो लगायतका अंगलाई विगार्ने काम गर्ने भएकोले धूमपान तथा मध्यपानबाट टाढै रहनुपर्दछ।

-जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ। त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैंलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिए जस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।

प्रतिक्रिया दिनुहोस्