पाल्पामा निःशुल्क आँखा शिविरमा ३३० जना लाभान्वित



२० पुष २०७६, काठमाडौं

पाल्पाको रम्भा गाउँपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३३० जना आँखाका बिरामीले सेवा लिएका छन्। रम्भा गाउँपालिका–१ को हुँगी स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको शिविरमा सेवा लिएका ३३० आँखाका बिरामीमध्ये २५ जनामा मोतियाबिन्दु र छ जनामा मासु पलाएको भेटिएको छ।

मोतियाबिन्दुको बिरामीलाई पुस २८ गते रामपुर नगरपालिकाको कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रमा निःशुल्क शल्यक्रियाका लागि पठाएको छ। शिविरमा आँखा कमजोर भएका ११५ जना बिरामीलाई चस्मा वितरण तथा अन्य बिरामीलाई समस्याअनुसारका औषधि निःशुल्क प्रदान गरियो। शिविरमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रका नेत्र सहायक अजयकुमार पालले आँखा जाँच तथा उपचार सेवा दिएका हुन्।

रम्भा गाउँपालिको आयोजना र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौला आँखा अस्पतालद्वारा सञ्चालित कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रले संस्था स्थापना भएपछिको पहिलोपटक निःशुल्क सेवा दिएको हो।

प्रतिक्रिया दिनुहोस्