
२० पुष २०७६ , काठमाडौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र टेक्सन भोजनालय संचालन गर्दै आएकी लक्ष्मी श्रेष्ठ मासिक रुपमा विद्युत् महसुल बुझाउँछिन्।
सुरुदेखि आर्थिक शाखामै महसुल बुझाउने गरेकी उनले पछिल्लो सफ्टवेयरमा समस्या आएको भन्ने सुनेपछि इलेक्ट्रिकल विभागका अधिकृत तेजनारायण शाहलाई महसुल बुझाउन थालिन्। तर, ७ महिनादेखि उनले बुझाएको पैसा प्रतिष्ठानको खातामा नभेटिएपछि उनी छक्क परिन्।
शाहले अब मलाई दिँदा हुन्छ भनेपछि मासिक रुपमा पैसा दिने गरेको उनले बताइन्। प्रतिष्ठानका इलेक्ट्रिकल विभाग प्रमुख साहले झण्डै ७ महिनादेखि आफैले भाडावाला व्यवसायीहरुबाट विजुलीको शुल्कबापत रकम बुझ्दै आएका थिए।
महसुल बुझाएबापत भौचर दिएपनि त्यसमा पैसा बुझ्नेको नाम फेरेर उल्लेख गरिएको छ। तर, आर्थिक कारोबार इलेक्ट्रिकल विभागबाट गर्ने व्यवस्था छैन। जसका कारण विद्युत् महसुलबापतको रकम अनियमितता भएको देखिएको छ। करोबारको अधिकार नै नभएको व्यक्तिलाई आफूहरुले पैसा बुझाएको खुलेपछि केही व्यवसायीहरुले बिहीबार प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनाललाई लिखितरुपमा निवेदन दिएका छन्।
प्रतिष्ठानमा सञ्चालनमा रहेको टेक्सन भोजनालय, स्टार्फ क्याण्टिन र मउण्ट नेपालले उपकुलपतिसमक्ष निवेदन दर्ता गराएका छन्। अधिकृत साहले विद्युत्बापतको रकम इलेक्ट्रीकल विभागमा बुझाउनुपर्ने भनेकोले शाहलाई पैसा बुझाएको निवेदनमा उल्लेख छ।






