
१६ पुष २०७६, काठमाडौं
नेपालको पुर्वी विर्तामोडमा नेपालकै पहिलो अत्याधुनिक क्यान्सर अस्पताल सुरु भएको छ। विर्तामोडमा सञ्चालनमा रहेको प्रस्तावित बीएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालको व्यवस्थापनले करिब ४ अर्ब लगानीमा पूर्वाञ्चल क्यान्सर अस्पताल सुरु गरेको हो।
अस्पतालले (आज) बुधवार पत्रकार सम्मेलनको आयोजना गरि उक्त सेवा सुरु गरेको हो। यसअघि नै क्यानसरमा निजी क्षेत्रबाट विशिष्टिकृत दुईवटा अस्पताल राजधानीमा सुरु गरिएता पनि पूर्णरुपमा क्यान्सर उपचारको सुविधान विस्तार गर्न सकेका थिएनन्। पूर्वाञ्चल क्यान्सर अस्प्तालले भने आवश्यक सबै उपकरणको व्यवस्था गर्दै निदान र उपचार सेवाको सुरुवात गरेको हो।
त्यस्तै, पूर्वाञ्चल क्यान्सर अस्पताल आफ्नै पेटस्क्यान मेशिन भएको पहिलो क्यान्सर अस्पताल बनेको छ। अस्पतालमा पेट सिटीका अलावा ट्रुबिम लिनियर एसिलेटर, गामा क्यामेरा, फोरडी सिटी सिमुलेटर, थ्रिडी मेमोग्राम, ब्रेन ल्याव न्यूरो न्याभिगेशन, क्याथ ल्याव, डेक्सा स्क्यान लगायत अत्याधुनिक उपकरणहरु मार्फत निदान र उपचार सुरु गरेको हो।
अस्पतालका मेडिकल डाइरेक्टर एवं क्यान्सर रोग विशेषज्ञ डा. वीरेन्द्र यादव भन्छन्, हामीले पछिल्ला उपकरणहरु सहित सेवा सुरु गरेका छौं। हाम्रो सपना आज वास्तविकतामा परिणत भएको छ। यो अस्पतालले अब पूर्वी नेपालमात्र नभई पुरै नेपाल र विदेशका बिरामीलाई समेत उपचार सेवा दिन्छ। नेपालबाट उपचारका लागि भारत जाने ७० प्रतिशतभन्दा बढि बिरामीलाई हामी रोक्छौं।
फाइल तस्वीर





